दुई वर्षपछि विराट गोल्डकप आयोजना हुँदै, चैत २६ गतेदेखि १० ओटा टिम मैदानमा उत्रने

Share News

चैत ६, विराटनगर । दुई वर्षपछि आगमी चैत २६ गतेखि विराट गोल्डकप प्रतियोगिता हुने भएको छ । विसं २०७४ सालपछि विराट गोल्डकप फुटबल ट्रष्टले नेपाल, भारत र क्यामरुनसमेत गरि १० ओटा टिमलाई मैदानमा उतार्न लागेको हो । 

आन्तरिक समस्या, कोभिड प्रभाव र फ्लडलाईट जडानले प्रतियोगिता दुई वर्षपछि धकेलिएको हो । 

विराट गोल्ड कप फुटबल ट्रस्टले बिहीवार पत्रकार सम्मेलन गर्दै खेलको मिति सार्बजनिक गरेको हो । ट्रस्टका संयोजक मनोजविक्रम शाहले प्रतियोगितामा नेपाल, भारत र क्यामरून गरी तीन ओटा मुलुकका १० ओटा फुटबल टिम सहभागी हुने जानकारी दिए । 

संयोजक शाहले प्रतियोगिताका मुख्य आकर्षक टिममा भारत–पन्जाब पुलिस, झारखण्ड टाटा एकेडमी, र क्यामरुनको अफ्रिकन रुट्स एसोशिएशन टिम रहेको जानकारी दिए । तीन ओटै टिम विराट गोल्डकपमा पहिलो पटक सहभागी हुँदैछन् ।

साहले भने ‘यस पटकको गोल्डकपको अर्को मुख्य र नयाँ आकर्षण फर्ड लाइट हुनेछ’, उनले भने, ‘विराटनगर महानगरपालिकाले ४ करोड ३० लाख रुपैयाँको लागतमा शहीद रङ्गशालामा फर्ड लाइट जडान गरिसकेको छ । अब हामी राति ७ बजेदेखि प्रतियोगिता सञ्चालन गर्न सक्ने भएका छौं ।’

यस पटकको गोल्डकपको मुख्य प्रायोजकमा एशियन थाई फुड्सको रमपम चाउचाउ र मारुती सिमेन्ट छन् । त्यस्तै प्रदेश नं १ को सरकार र सामाजिक विकास मन्त्रालय तथा विराटनगर महानगरपालिकाले पनि आर्थिक रूपमा सहयोग गरेका छन् ।

यस वर्षको प्रतियोगितामा उपाधि जित्ने टिमलाई १५ लाख १५ हजार र उपविजेतालाई ७ लाख ५१ हजार रुपैयाँ राशिको नगद पुरस्कारसहित कप र सिल्ड प्रदान गरिने छ । पराजित भएर जाने पाहुना टिमलाई नेपालको टिम भए नेरु २० हजार र विदेशी भए भारु २० हजार दिइने शाहले उल्लेख गरे ।

उनले म्यान अफ द म्याच हुने खेलाडीलाई प्रत्येक प्रतियोगितामा १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटर साइकलसहित पदक प्रदान गरिने विज्ञप्तिमा बताइएको छ । प्रतियोगितामा १ करोड २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

यही चैत २६ गतेदेखि विराट गोल्डकपको छैठौं संस्करण हुन लागेको हो । विराटनगरमा विसं २०१८ सालदेखि विराट गोल्डकपका नामबाट अन्तरराष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सञ्चालन गरिंदै आएको छ । मुलकमा गणतन्त्र स्थापना भएपछि विसं २०६४ सालदेखि यसको नाम परिवर्तन गरेर विराट गोल्डकप राखियो ।

विराट गोल्ड कपका नामबाट पहिलो प्रतियोगिता विसं २०६४ सालमा गराइएको थियो । यसअघि विसं २०७४ को प्रतियोगितामा थ्री स्टार क्लब र नेपाल आर्मी विजेता र उपविजेता भएका थिए ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।