वाणिज्य बैंकको निक्षेप संकलनमा संकुचन

Share News

काठमाडौं । नेपाली नयाँ वर्षको शुरुआतसँगै बैंकको निक्षेप संकलन प्रभावित बनेको छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूको वैशाख पहिलो र दोस्रो साता निरन्तर निक्षेप संकलनमा संकुचन आएको छ । वाणिज्य बैंकको भन्दा आकर्षक ब्याजदर विकास बैंक, वित्त कम्पनी तथा सहकारीहरूले दिएकाले ग्राहकहरू स्थानान्तरण भएको हुनसक्ने बैंकरहरू बताउँछन् ।

नेपाल बैंकर्स संघले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखको पहिलो साता निक्षेप संकलन १७ अर्ब रुपैयाँले कमी भएर कुल निक्षेप ३९ खर्ब २७ अर्ब रुपैयाँमा सीमित भएको छ । वैशाख दोस्रो साता ५ अर्ब रुपैयाँले थप घट्यो ।

वैशाखका शुरुआती २ सातामा कर्जा प्रवाहमा समेत उतारचढाव आएको छ । निरन्तर वृद्धि भइरहेको कर्जा प्रवाह वैशाख पहिलो साता ८ अर्ब रुपैयाँले घटेर रू. ३५ खर्ब ६५ अर्बमा सीमित थियो । तर, दोस्रो सातामा भने सुधार देखियो । कर्जा प्रवाह १७ अर्ब रुपैयाँले बढ्दा कुल कर्जा ३५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले बताएको छ । सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल निक्षेप संकलन प्रभावित हुनुको कारण कोभिडको दोस्रो लहरभन्दा पनि निक्षेपकर्ताहरू अन्य समूहको बैंकमा स्थानान्तरण भएको बताउँछन् ।

‘कोभिडमा खाद्यान्न अभाव होला भनेर किन्न ग्राहकले बैंकबाट निक्षेप झिकेका होइनन् । डिजिटल बैंकिङले गर्दा पनि नगद झिक्नुपर्ने अवस्था छैन,’ उनले भने ‘कतिपय विकास बैंकले राम्रो ब्याजदर दिएका छन् । कतिपय ग्राहकले नगद झिकेर वित्त कम्पनी, सहकारीमा समेत निक्षेपमा राख्न लगेको देखियो ।’

कतिपय बैंकहरूको लगानीयोग्य पूँजी केन्द्रीय बैंकले तोकेको सीसीडी (कर्जा पूँजी निक्षेप अनुपात) ८५ प्रतिशतको हाराहारीमा पुर्‍याएकाहरूले निक्षेपमा जोड दिन करीब १ प्रतिशत विन्दुले बढाएर निक्षेपको ब्याजदर साढे ८ प्रतिशत हाराहारीमा निर्धारण गरे । तर, अधिकांश बैंकको सीसीडी भने धेरै खुकुलो छ । त्यस्ता बैंकले निक्षेपको ब्याजदर खासै बढाएनन् । यसकारण पनि निक्षेप विकास बैंकतिर सरेको उनको अनुमान छ ।

यतिबेला समग्र बैंकको सीसीडी औसत ७८ दशमलव ७७ प्रतिशतको हाराहारीमा रहेको नेपाल राष्ट्र बैंकले बताएको छ । ‘अहिले हाम्रो बैंकको सीसीडी ७७ प्रतिशतमा छ । चौथो त्रैमासमा प्रायः बैंकरहरूले सरकारले विकास खर्च गरे बैंकिङ प्रणालीमा पैसा आउने आशा गर्छौ । तर, कोभिडले प्रभावित हुने डर छ,’ सीईओ पोखरेलले अभियानसँग भने, ‘दोस्रो लहरको कोरोनाबाट धेरै व्यवसाय प्रभावित हुँदा छूट माग्न सक्छन् । यसले बैंकको नाफा पनि आगामी त्रैमासमा सोचेजस्तो नहुन सक्छ ।’

गत फागुन र चैत महीनामा निक्षेप वृद्धि निरन्तर बढेको थियो । गत फागुनको अन्तिम अर्थात चौथो साता रू.२४ अर्बले कर्जा प्रवाह थपिदा कुल कर्जा रू. ३४ खर्ब १२ अर्ब पुगेको थियो । तर, त्यस साता भने निक्षेपको वृद्धि कर्जाको तुलनामा कम थीयो । उक्त साता रू. ३ अर्बले मात्रै निक्षेप संकलन थपिएर कुल ३८ खर्ब २६ अर्ब रुपैयाँको निक्षेप संकलन भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।