कोभिडका कारण नयाँ शैक्षिकसत्र सञ्चालनमा अन्योल

Share News

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमण बढ्दो रहेकाले दुई महिना पछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरू हुनेमा अन्योल देखिएको छ । गतवर्षको महामारीको प्रभावका आधारमा चालू शैक्षिक सत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिकसत्र, २०७८ सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ परिस्थितिबारे आकलन गरिरहेको छ ।

महामारी नियन्त्रण र रोकथामका लागि मुलुुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ । कोरोनाको दोस्रो लहरले बालबालिकालाई झन् बढी जोखिम हुने भएकाले निषेधाज्ञा जारी हुनु अगावैदेखि शिक्षालयमा भौतिक उपस्थितिको पढाइ बन्द गराइएको छ ।     

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ शैक्षिकसत्र असारदेखि हुने गरी शिक्षा नियमावालीमा भएको संशोधन नेपाल राजपत्रमा प्रकाशन भइसकेको र सोबमोजिम सम्बन्धित पक्षलाई सूचना पठाइएको भन्दै नयाँ परिस्थितिबारे सरकारले निर्णय गरिनसकेको बताए । अर्को निर्णय नभएसम्म विद्यालयले असार १ गतेदेखि नै नयाँ शैक्षिकसत्र शुरू गर्नुपर्ने हुन्छ । यसको व्यावहारिकता हेरेर पाठ्यवस्तुमा थप समायोजना गरी नयाँ भर्नाको नयाँ मिति तय गर्नुपर्ने देखिएको छ । विगतमा हरेक चैतमा वार्षिक परीक्षा समाप्त भई वैशाखमा नयाँ भर्ना हुँदै आएको थियो । गतवर्ष शुरू भएको कोरोना महामारीका कारण अधिकांश महीना प्रत्यक्ष कक्षा बन्द भएपछि पाठ्यवस्तु समायोजन गरेर वैकल्पिक प्रणालीबाट पठनपाठन गराइएको थियो । बन्दाबन्दीका कारण गतवर्ष पनि भदौ महीनासम्म नयाँ भर्ना हुन सकेको थिएन ।

कोभिड–१९ र यस्तै प्रकृतिका महामारीको अवस्थालाई सम्बोधन हुनेगरी नेपाल सरकार, मन्त्रिपरिषद्ले शिक्षा नियमावली, २०५९ मा नवौं संशोधन, २०७७ गरी शैक्षिकसत्र परिवर्तनको अधिकार मन्त्राललाई प्रदान गरेको थियो । गत पुस १२ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि कृष्णगोपाल श्रेष्ठले उक्त नियमावली संशोधन गराएका थिए । नियमावाली संशोधनको उक्त सूचना नेपाल राजपत्रमा गत फागुन ३ गते प्रकाशन गरिएको थियो ।   

शिक्षा ऐन, २०२८ (नवौं संशोधन) को दफा १९ ले दिएको अधिकार प्रयोग गरी संशोधित नियमावालीको नियम ८४ को (१) मा ‘महामारी वा अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिकसत्र परिवर्तन गर्नुपर्ने अवस्था आएमा मन्त्रालयले गर्न सक्नेछ’, भनिएको छ । विकट हिमाली क्षेत्र भन्नाले कालीकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, मनाङ र मुस्ताङ मानिएको छ । ती विकट जिल्लामा यसअघि हरेक फागुनदेखि शैक्षिक सत्र शुरू हुँदै आएको थियो ।     

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले अहिलेको अवस्थामा आगामी असार १ गतेदेखि नयाँ भर्ना गर्न सम्भव नभएको प्रतिक्रिया दिए । अनलाइनलगायत वैकल्पिक माध्यमको सिकाइका लागि शिक्षक तयार रहे पनि सबै स्थानका विद्यार्थीसँग पहुँच नभएकाले महामारीको प्रभाव कम हुँदै गएमा आगामी भदौतिर शैक्षिकसत्र शुरू गर्न सकिने उनको बुझाइ छ । महामारीकै कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० र १२ को परीक्षा स्थगित गरिएको छ । यी परीक्षा निर्धारण नभएसम्म पनि नयाँ शैक्षिकसत्रबारे निर्णय गर्न सजह देखिएको छैन ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।