क्यानन विश्वभर ‘जापानी गुणस्तर’का क्यामेरा

Share News

क्यामेरा उत्पादनमा ८० वर्षको अनुभव भएको क्याननले सधैं ‘जापानी गुणस्तर’लाई कायम राखेको छ । त्यही भएर क्यानन विश्वव्यापी रूपमा आफूलाई नम्बर एक क्यामेरा उत्पादक बनाइरहन सफल भएको छ । सन् २०१३ को विश्वव्यापी क्यामेरा विक्रीमा क्यानन ४४ प्रतिशत बजार हिस्सासहित पहिलो नम्बरमा रहेको दाबी क्याननको छ।

विगत केही वर्षको अन्तरालमा विश्वमा तस्वीर खिच्ने दर १० गुणा बढेको छ । तर, त्यसो हुनुमा क्यामेराको भन्दा स्मार्टफोनको योगदान बढी छ । विश्वमा विशेषगरी कम्प्याक्ट क्यामेराको विक्री कम हुनुमा स्मार्टफोनको बढ्दो वर्चस्व पनि जिम्मेवार छ । तर, यो प्रवृत्ति अब बढीमा १ वा २ वर्षमात्रै रहने विश्वको प्रमुख क्यामेरा निर्माता क्यानन इन्कका इमेज कम्युनिकेशन प्रडक्ट्स अपरेशन हेर्ने प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी मासाया माइदाको विश्लेषण छ । उनी भन्छन्, ‘स्मार्टफोनले क्यामेरालाई प्रतिस्थापन गर्न सक्दैन । मानिसले स्मार्टफोन र क्यामेराले खिच्ने तस्वीरबीच भिन्नता बुझ्न थालेपछि कम्प्याक्ट क्यामेराको विक्री पुनः बढ्नेछ ।’ हुन त यस अवधिमा पनि विश्वमा डीएसएलआर क्यामेराको विक्री भने बढिरहेकै छ । तर, पनि क्यामेरा उत्पादक कम्पनीले स्मार्टफोनले पार्न सक्ने अप्ठ्यारोलाई राम्रोसँग आँकलन गरेका छन् । ‘हामी क्यामेरा उत्पादक हौं । मानिसले क्यामेराबाट नै तस्वीर खिच्न मन पराइरहे भनेमात्रै हाम्रो व्यवसाय बढिरहन्छ,’ क्यानन सिङ्गापुरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केनसाकु कोनिची भन्छन्, ‘त्यसो हुँदा हामीले मानिसलाई क्यामेरा तथा फोटोका बारेमा चेतना जगाउने कामलाई पनि आफ्नो जिम्मेवारी सम्झेका छौं ।’ त्यही भएर क्याननले नेपाललगायत दक्षिण तथा दक्षिण–पूर्वी एशियाका मुलुकमा विभिन्न चेतनामूलक कार्यक्रम गर्दै छ । उदाहरणका लागि क्याननले नेपालमा फोटोग्राफी कार्यशाला गर्दै छ । त्यस्तै, कम्बोडिया र इण्डोनेशियामा फोटो म्याराथुन गर्दै छ भने बङ्गलादेश र श्रीलङ्कामा फ्लायर सञ्चालन गर्दै छ । विशेषगरी उदीयमान बजारमा क्याननको ब्राण्डिङ गर्न तथा फोटोग्राफी संस्कृतिको विकास गर्न यस्तो गर्न लागिएको प्रबन्ध निर्देशक माइदाले बताए ।

क्यानन सधैं उत्कृष्ट
क्यामेरा उत्पादनमा ८० वर्षको अनुभव भएको क्याननले सधैं ‘जापानी गुणस्तर’लाई कायम राखेको छ । त्यही भएर क्यानन विश्वव्यापी रूपमा आफूलाई नम्बर एक क्यामेरा उत्पादक बनाइरहन सफल भएको छ । सन् २०१३ को विश्वव्यापी क्यामेरा विक्रीमा क्यानन ४४ प्रतिशत बजार हिस्सासहित पहिलो नम्बरमा रहेको दाबी क्याननका इमेज कम्युनिकेशन प्रडक्ट्स अपरेशनसका ग्रूप एक्जुकेटिभ गो टोकुराले गरे । चीनमा ४३ प्रतिशत, जापानमा ३३ प्रतिशत, अमेरिकामा ४८ प्रतिशत बजार हिस्सासहित क्यानन पहिलो स्थानमा रहेको उनको दाबी छ । त्यस्तै, यूरोपका चार प्रमुख अर्थतन्त्रहरू जर्मनी, बेलायत, फ्रान्स र इटलीमा क्याननको बजार हिस्सा ४२ प्रतिशत छ ।

अन्य कम्पनीले डीएसएलआर क्यामेराको मूल्य घटाएर बजार हिस्सा बढाउन खोजिरहँदा क्यानन भने त्यसमा त्यति परिवर्तन नगरीकनै बजार लिन सफल भइरहेको छ । अमेरिकी तथा एशियाली बजारमा क्याननका डीएसएलआर क्यामेराको मूल्य सबैभन्दा उच्च छ र विक्री पनि सबैभन्दा धेरै छ । यसले पनि क्याननका क्यामेरा उत्कृष्ट गुणस्तरका छन् भन्ने प्रमाणित गरेको छ । क्यानन कसरी जापानी गुणस्तर कायम गराइरहन सफल भएको छ त ?– किनभने क्यामेराका सबै पार्टपुर्जा ऊ आफै उत्पादन गर्छ ।

क्यामकर्डरमा उत्कुष्ट शुरुआत
क्याननले सन् २०१२ देखि मात्रै भिडियो क्यामेरा (क्यामकर्डर) उत्पादन शुरू गरेको हो । तर, उत्पादन शुरू गरेको दोस्रो वर्षमै क्यामकर्डर विक्रीमा क्यानन अमेरिकी बजारमा पहिलो स्थान ओगट्न सफल भएको छ । २०१३ को तेस्रो त्रैमासमा अमेरिकामा ३८ प्रतिशत बजार हिस्सा पुर्‍याउन सफल भएको जानकारी क्यानन इन्कका भिडियो प्रडक्ट ग्रूपका ग्रूप एक्जुकेटिभ हिरु एदाकुबोले दिए । ‘सोही अवधिमा यूरोपेली बजारमा ३१ प्रतिशत शेयरसहित दोस्रो स्थानमा उक्लिन सफल भएका छौं,’ उनले भने । लेन्स, सिमोस सेन्सर तथा इमेजिङ प्रोसेसरमा क्याननको पुरानो विशेषज्ञता भएका कारण क्यानन क्यामेरा गुणस्तरीय र ग्राहकको रोजाइमा पर्न सफल भएको पनि एदाकुबोले बताए ।

निरन्तरको ‘इन्नोभेशन’
निरन्तरको नवप्रवर्तन क्याननको सफलताको कडी हो । क्याननले रहेक वर्ष आफ्नो कुल विक्रीको करीब ८ प्रतिशत अनुसन्धान तथा विकासमा खर्च गर्ने गर्छ । सन् २०१३ को विक्रीलाई आधार मान्ने हो भने यो करीब ३ खर्ब जापानी येनबराबर हुन आउँछ । क्याननले नवप्रवर्तनलाई विकासको मेरुदण्ड मानेको हुनाले अनुसन्धान र विकासमा विशेष जोड दिने गरेको प्रबन्ध निर्देशक माइदाले बताए ।

अबका दिन क्याननले कसरी मानिसको जीवनशैलीसँग जोडिन सकिन्छ, त्यसतर्फ ध्यान दिइरहेको छ । क्याननले भर्खरै फोटोबाट कथा बनाउने फिचरसहितको पावरशट एन–१०० क्यामेरा बजारमा ल्याएको छ । अबका दिनमा इण्टरनेट र टेलिकम्युनिकेशन प्रविधिसँग क्याननका क्यामेरालाई कसरी जोड्न सकिन्छ, त्यसतर्फ ध्यान दिइरहेको क्याननका ग्रूप एक्जुकेटिभ मिकइ मात्सुदाइराले बताए । त्यसैका लागि क्याननले मोबाइलसँग कनेक्शन हुने किसिमका तथा स्मार्टफोनका माध्यमबाटै चलाउन सकिने क्यामेरा बजारमा ल्याउन थालेको छ । साथै, आफूले खिचेको फोटो घरमै प्रिण्ट गर्न सकिने गरी कम्प्याक्ट फोटो प्रिण्टरको उत्पादनमा पनि क्याननले जोड दिइरहेको छ ।

सीपी प्लसमा क्याननलाई गोल्ड मेडल
जापानको योकोहामा शहरमा सम्पन्न सीपी प्लस–क्यामेरा एण्ड फोटो इमेजिङ शो २०१४ मा क्याननले उत्कृष्ट प्रदर्शकका रूपमा स्वर्णपदक प्राप्त गरेको छ । फेब्रुअरी १३ देखि १६ सम्म भएको उक्त प्रदर्शनी कुल ४२ हजार ४ सयले अवलोकन गरेका थिए । प्रदर्शनीमा विश्वभरका क्यामेरा तथा डिजिटल इमेजिङ सामग्री उत्पादक तथा वितरक कम्पनीको सहभागिता थियो । कार्यक्रममा कुल ७० कम्पनीले भाग लिएका थिए । योकोहामाको प्यासिफिको योकोहामा प्रदर्शनी हलमा भएको कार्यक्रममा फोटो इमेजिङसम्बन्धमा विभिन्न अन्तरक्रियासमेत भएका थिए ।

क्याननको इतिहास



विश्व बजारमा यूरोपेली क्यामेराको दबदबा भएको बखत सन् १९३३ मा जापानको टोकियोस्थित रोपोङ्गीमा उच्च गुणस्तरीय क्यामेरा उत्पादन गर्ने उद्देश्यका साथ केही उद्यमशील युवाले एउटा सानो कोठामा प्रयोगशाला स्थापना गरे । ताकेसी मिताराईलगायत युवा ‘क्वानन’ नाममा एउटा नमूना क्यामेरा बनाउन सफल भए । ‘क्वानन’ बुद्ध धर्ममा करुणाकी देवीको नाम हो । सन् १९३५ मा हान्सा क्याननको नाममा जापानमै पहिलो क्यामेरा निर्माण भयो, जुन क्यानन ब्राण्डको शुरुआत पनि थियो । त्यसपछि क्याननले अहिलेसम्म निरन्तर क्यामेरा उत्पादन गर्दै आएको छ ।

सन् १९५५ मा कम्पनीले अमेरिकाको न्यूयोर्कमा पनि शाखा कार्यालय खोल्यो । त्यसको २ वर्षपछि स्वीट्जरल्याण्डको जेनेभामा कम्पनीले यूरोपेली बजारमा क्यामेराको विक्रीवितरणका लागि क्यानन यूरोपाको स्थापना ग¥यो । हालसम्म आइपुग्दा क्याननले विश्वव्यापी रूपमा बजार विस्तार गरेको छ । अहिले अमेरिका, यूरोप, चीन, अष्ट्रेलियालगायत क्षेत्रमा आफ्ना क्षेत्रीय कार्यालयमार्फत क्याननले व्यवसाय गर्दै आएको छ । हालसम्म क्याननका कुल सब्सिडियरीको सङ्ख्या २ सय ७५ पुगेको छ भने कम्पनीमा करीब २ लाख कर्मचारीले काम गरिरहेका छन् । कम्पनीले आफ्नो व्यवसायमा विविधीकरण पनि गरेको छ । हाल कम्पनीले इमेजिङ (क्यामेरा), अफिस इक्वीपमेण्ट, औद्योगिक इक्वीपमेण्ट तथा स्वास्थ्य उपकरणको उत्पादन गरिरहेको छ ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।