हुम्लाको दक्षिणी भेगमा खुल्न थाले विद्यालय

Share News

साउन २२, हुम्ला । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् ।

ताँजाकोट, अदानचुली र चंगेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । 

बिहीवारदेखि अदानचुलीभित्र रहेका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएका छन् । गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याकुरेलले जानकारी दिए । 

‘हामीले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौँ’, उनले भने । कोरोनाको जोखिम नभएकाले भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेको उनको भनाइ थियो । 

लामो समयदेखि विद्यालय बन्द भएकाले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पठनपाठन कार्यलाई गाउँ कार्यपालिकाको निर्णयानुसार अगाडि बढाइएको गाउँपालिका अध्यक्ष दल फडेराले बताए । अदानचुलीमा १८ ओटा सामुदायिक विद्यालय छन् ।

ताँजाकोटले यसअघि नै विद्यालय पुनः सञ्चालनमा ल्याइसकेको छ । संघीय सरकारले स्थानीय सरकारलाई कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्नसक्ने अधिकार दिएकाले सोहीअनुसार अगाडि बढेको गाउँपालिकाले जानकारी दिएको छ । 

यद्यपि जिल्लाको माथिल्लो क्षेत्रका सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकामा रहेका विद्यालय कहिले खुल्ने हुन् भन्ने अन्योल कायमै छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।