फिफा वरियतामा नेपाल १६८ औं स्थानमा, बेल्जियम भने शीर्ष स्थानमा    

Share News

साउन २८, काठमाडौं ।  विश्व फुटबल महासंघ(फिफा)  वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय विश्व फिफाले बिहीवार सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियतामा नेपाल तीन स्थान सुधार गर्दै १६८ औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१औं स्थानमा रहेको थियो ।     
     
 नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ । गत मे महीनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अंक ९६८ रहेको थियो । अहिलेको नयाँ वरियतामा नेपालले चार अंक बटुल्दै ९७२ बनाएको छ ।     
     
 नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०५औं स्थानमा छ भने माल्दिभ्स १५८औं स्थानमा रहेको छ । नेपालभन्दा तल भूटान, बङ्गलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । बङ्गलादेश १८८औं स्थानमा छ भने भूटान १८७औं स्थानमा छ । त्यस्तै पाकिस्तान १९८औं स्थानमा रहँदा श्रीलङ्का २०५औं स्थानमा छ ।     
     
 बेल्जियम फिफा वरियताको शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । त्यसैगरी फ्रान्स तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौथो तथा इटाली पाँचौं स्थानमा छ । अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र अमेरिका दशौं स्थानमा छ ।रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।