एप्लिकेशनबाटै मेडिकल रिपोर्ट फरवार्ड
घटनाहरू प्रायः अकस्मात् नै हुन्छन् । त्यसैगरी स्वास्थ्यसम्बन्धी समस्या पनि कहिलेकाँही अचानक नै आउन सक्छन् । त्यस्तो समयमा चिनेजानेको डाक्टर र नजीकैको अस्पतालबारे जानकारी भए त राम्रो नै भयो । तर, त्यो भएन भने के गर्ने त ? हो, यस्तै समस्याको समाधान गर्ने उद्देश्यले सूचनाप्रविधि अध्ययन गरिरहेका विजय कँडेल र नगेन्द्र घिमिरेले हालै ‘हस्पिटल्स नेपाल’ एप्लिकेशनको निर्माण गरेका छन् । कँडेलको एउटा पारिवारिक घटनाले यो एप्लिकेशनको जन्म भएको हो । २ महीनाअघि घरमा बिदा मनाइरहँदा कँडेलकी भाउजूलाई अचानक स्वास्थ्यसम्बन्धी समस्या देखापर्यो । त्यतिबेला घरका अन्य सदस्यलाई पनि नजीकका अस्पताल तथा सम्पर्क गर्नुपर्ने व्यक्तिका बारेमा राम्रो जानकारी थिएन । अस्पतालको सम्पर्क नम्बर खोज्ने क्रममै अस्वस्थ भाउजूलाई अचानक होस् आयो । तर, यो घटनाले भने कँडेललाई राम्रै पाठ सिकायो र सोही पाठले नै उनलाई यस एप्लिकेशनको निर्माता बनायो ।
भारतमा आईटी विषय अध्ययन गरिरहेका घिमिरेसँगको सहकार्यमा कँडेलले ९ दिनको मेहनतपछि यो एप्लिकेशन निर्माण गरेका हुन् । नामजस्तै यो एप्लिकेशनमा नेपालमा सञ्चालनमा रहेका अस्पतालको जानकारी दिइएको छ । यसका लागि उनीहरूले हेल्थ कन्सर्नको सहयोगमा अस्पतालसम्बन्धी सम्पूर्ण जानकारी बटुल्ने काम गरे । ‘एप्लिकेशनमा हामीले अहिलेसम्म सङ्कलन गरेका अस्पतालको यथासम्भव जानकारी दिने प्रयास गरेका छौं,’ कँडेल भन्छन् । उनका अनुसार अहिले यो एप्लिकेशनमा ३ सय ५ ओटा अस्पतालको जानकारी समेटिएको छ । प्रयोगकर्ताको सुविधाका लागि अस्पताल रहेको स्थानको नक्सासमेत एप्लिकेशनमा उपलब्ध गराइएको छ । यसका लागि प्रयोगकर्ताले एप्लिकेशनमा रहेको ‘म्याप’ शीर्षकमा क्लिक गरेपछि गूगलम्यापमार्फत नक्सा पत्ता लगाउने सिष्टम यसमा राखिएको छ । यो सुविधा प्रयोग गर्न भने इण्टरनेटको पहुँचमा हुनुपर्नेछ । एप्लिकेशनमा प्रायः सबै अस्पतालको कम्तीमा दुईओटा सम्पर्क नम्बरसमेत उपलब्ध छ ।
एप्लिकेशनबाटै मेडिकल रिपोर्ट फरवार्ड
नियमित स्वास्थ्य परीक्षण गराइरहेका बिरामीलाई आफ्नो मेडिकल रिपोर्ट डाक्टरसम्म पुर्याउने सुविधासमेत यो एप्लिकेशनमा उपलब्ध छ । इण्टरनेटको पहुँचमा रहेका प्रयोगकर्ताले आफ्नो मेडिकल रिपोर्ट स्क्यान गरेर सम्बन्धित डाक्टरलाई फरवार्ड गर्न मिल्ने गरी एप्लिकेशन निर्माण गरिएको छ । स्क्यान गरिएको मेडिकल रिपोर्टलाई सम्बन्धित डाक्टरको इमेल एड्रेसमा क्लिक गरेर पठाउन सकिन्छ ।
एम्बुलेन्समा पनि पहुँच
हस्पिटल्स नेपालमा एम्बुलेन्स सवारीको समेत जानकारी उपलब्ध गराइएको छ । यो सुविधाले एम्बुलेन्सको आवश्यकता परेको समयमा डायरी खोज्नुपर्ने झन्झटबाट मुक्त पारिदिएको छ । यसमा उपलब्ध एम्बुलेन्सको जानकारी प्रयोग गरी यथासक्य छिटो सुविधा लिन सकिनेछ । १ दशमलव २ एमबी क्षमताको यो एप्लिकेशनलाई अझ परिष्कृत बनाउने डेभलपरको योजना छ । ‘अहिले हामीले विशेषज्ञ डाक्टरको सम्पर्कलाई बढी प्राथमिकता दिएका छौं,’ कँडेलले भने, ‘केही समयमै सूचीकृत सबै डाक्टरको जानकारी यसमा उपलब्ध गराउँदैछौं ।’ त्यस्तै स्वास्थ्यसम्बन्धी नयाँ आयामहरूलाई समेत एप्लिकेशनमा थप गर्ने उनीहरूको योजना छ । हाल एण्ड्रोइड भर्सनमा मात्र उपलब्ध हस्पिटल्स नेपाललाई आईफोन ओएसमा समेत उपलब्ध गराउने तयारी गरिएको छ ।
डाक्टरसँग सोझै कुराकानी
अस्पताल गएर पनि सम्बन्धित डाक्टरको पहिचान नहुनु तथा भेटघाटका लागि समय नपाउने समस्याले धेरै बिरामीलाई बिचल्लीमा पारेको प्रशस्त उदाहरण छन् । तर, खुशीको कुरा के भने हस्पिटल्स नेपालका प्रयोगकर्तालाई यो झन्झट भने बेहोर्नुपर्ने छैन । एप्लिकेशनमा उपलब्ध डाक्टरहरूको जानकारीमार्फत प्रयोगकर्ताले सम्बन्धित डाक्टरसँग पहुँच राख्न सक्छन् । यसका लागि एप्लिकेशनबाट ‘स्टाण्डर्ड एसएमएस’ गर्न सक्छन् । तर, प्रयोगकर्ताले डाक्टरलाई सीधै एसएमएस गर्न भने पाउने छैनन् । प्रयोगकर्ताले आफूलाई आवश्यक डाक्टर छनोट गरेपछि सो एसएमएस सिष्टममा जानेछ । सिष्टमले नै सम्बन्धित डाक्टरलाई सो एसएमएस पठाउनेछ । डाक्टरसँग समय लिनका लागि मात्र यो एसएमएस प्रयोग गर्न सकिनेछ । ‘सिष्टममा भएको डाक्टरको नम्बरमा हामीले एसएमएस फरवार्ड गर्छौं,’ कँडेलले भने, ‘काममा व्यस्त हुने भएकाले एप्लिकेशन प्रयोगकर्तालाई सम्पर्क नम्बर भने उपलब्ध गराएका छैनौं ।’ सिष्टमबाट पठाइएको एसएमएसको प्रतिक्रिया प्रयोगकर्ताले केही समयमै प्राप्त गर्न सक्नेछन् । यस एप्लिकेशनमा अहिले २ हजार ५ सय ५८ डाक्टरको नाम तथा जानकारी समावेश गरिएको छ । एप्लिकेशनमा कम्तीमा १० दिनमा नयाँ डाक्टर तथा अस्पतालको जानकारी अपडेट गर्ने तयारी गरिएको पनि उनले जानकारी दिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।