आईटी क्षेत्रमा खर्बौंका चर्चित खरीदविक्री सम्झौता

Share News

गत फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाइरहेको साँझ विश्वभरका ठूला सञ्चारमाध्यम भने विशेष महत्वका साथ एउटा समाचारको अपडेट गरिरहेका भेटिन्थे । सामाजिक सञ्जाल फेसबूकले मोबाइल म्यासेजिङ ‘ह्वाट्सएप’ खरीद गर्ने उक्त समाचार त्यसको एक हप्तासम्म निकै चर्चामा रह्यो । हुन त फेसबूकले २ वर्षअघि अप्रिल महीनामा फोटो शेयर गर्ने इन्ष्टाग्राम खरीद गर्ने निर्णय गरेको थियो । तर, यसको त्यति चर्चा भएन, जति ह्वाट्सएप खरीद गर्दा भएको थियो । चर्चापछिको एउटै कारण फेसबूकले ह्वाट्सएप मालिकहरूलाई बुझाउन लागेको रकम थियो । १९ बिलियन अमेरिकी डलर अर्थात् १९ खर्ब रुपैयाँको उक्त खरीद सम्झौता पक्कै पनि सूचना प्रविधिमा भएको हालसम्मकै ठूलामध्ये एक हो । स्थापनाको ४ वर्षमै एउटा एप्लिकेशनमाथि गरिएको लगानी भएकैले यसले धेरै चर्चा बटुलेको थियो । एप्लिकेशनमात्र होइन, विश्वमा सूचना प्रविधिमा भएका अन्य खरीद सम्झौता बेलाबेला चर्चामा रहँदै आएका छन् । विश्वास रेग्मीको एक प्रस्तुति :

युट्युब र मोटोरोलामा गूगल प्रभुत्व

अनलाइन पेमेण्ट कम्पनी पेपालका पूर्व कर्मचारीहरूले निर्माण गरेको यूट्युब स्थापनाकै वर्ष निकै चर्चामा थियो । भिडियो शेयर गर्न सकिने यो अनलाइन प्लेटफर्ममा यति आकर्षण बढ्यो कि, प्रत्येक दिन हजारौंको सङ्ख्यामा यसमा भिडियो शेयर हुन थाले । सन् २००५ को फेबु्रअरी महीनादेखि सञ्चालनमा आएको यूट्युबप्रतिको यही आकर्षणलाई सर्च इञ्जिन गूगलले सन् २००६ को अक्टोबर महीनामा १ खर्ब ६५ अर्ब रुपैयाँ दिने घोषणा गरेर आफ्नो स्वामित्वमा पार्‍यो । त्यति मात्र होइन, तीव्र बजार विस्तार योजना बनाइरहेको मोटोरोला इन्कर्पोरेशनअन्तर्गतको  मोटोरोला मोबिलिटी पनि गूगलले सन् २०११ को अगष्ट महीनामा आफ्नो मातहतमै ल्यायो । यसको खरीद सम्झौता थियो १२ खर्ब ५० अर्ब रुपैयाँ । तर, राम्रोसँग सञ्चालनमा ल्याउन नसकेपछि करीब १० खर्ब रुपैयाँ घाटा खाएर गूगलले गत माघ महीनामा लेनोभो कम्पनीलाई मोटोरोला मोबिलिटी विक्री गरिसकेको छ ।

एचपीको रू. १० खर्ब सम्झौता     

कम्प्युटर सफट्वेयर तथा हार्डवेयरदेखि सूचना प्रविधिका विभिन्न क्षेत्रमा लगानी गर्दै आएको हिउलेट प्याकर्ड (एचपी)ले पनि सन् २०११ को अगष्ट महीनामा ठूलो खरीद सम्झौता गरेको थियो । बेलायतको सफ्टेवयर कम्पनी अटोनोमी खरीद गर्दा एचपीले गरेको १० अर्ब २४ रुपैयाँ खर्च त्यतिबेला निकै चर्चित बन्न पुग्यो ।

अझ ठूलो बन्दै माइक्रोसफ्ट


यस वर्ष पनि संसारकै धनी घोषित बिल गेट्सले संसारमा ल्याएको माइक्रोसफ्टको मुख्य आम्दानी सफ्टवेयर विक्री हो । कम्प्युटर, ल्यापटपसहित मोबाइलमा समेत विण्डोज अपरेटिङ सिष्टम प्रयोगमा ल्याएको माइक्रोसफ्टले सन् २०११ र २०१३ मा दुई ठूला कम्पनी खरीद गरेको थियो । ८ खर्ब ५० अर्ब रुपैयाँ खर्च गरेर भिडियो कलिङ सुविधा भएको स्काइप र ७ खर्ब २० अर्ब रुपैयाँ खर्च गरेर फिनिस कम्पनी नोकियाको मोबाइल युनिट माइक्रोसफ्टले खरीद गरिसकेको छ ।

ब्लगमा याहूको ध्यान


अनलाइन समाचार तथा सर्च इञ्जिनको सुविधा दिँदै आएको याहूले प्रसिद्ध ब्लगिङ साइट टम्बलर खरीद गरेर चर्चा बटुलेको थियो । सन् २०१३ को मे महीनामा गरिएको सो सम्झौतामा याहूले खरीदबापत १ अर्ब १० अर्ब रुपैयाँ खर्च गरेको थियो ।

इबे र पेपालको सम्झौता


हुन त अनलाइन किनमेल नेपालमा राजधानीबाहेक अन्यत्र त्यति प्रचलनमा छैन । अझ अनलाइनबाटै रकम तिर्न सकिन्छ भन्ने त कतिपयलाई अझै जानकारीसमेत नहुन सक्छ । तर, एक दशकभन्दा पनि अघि नै अनलाइन किनमेलबाट राम्रो आम्दानी गरेको इबेले अनलाइन पेमेण्ट सुविधा दिने पेपालसँग महँगो खरीद सम्झौता गरेको थियो । सन् २००२ को जुन महीनामा भएको यी दुई कम्पनीबीचको सम्झौतामा इबेले १ खर्ब ५० अर्ब रुपैयाँ खरीदबापतको रकम दिनुपर्ने निर्णय भएको थियो । (एजेन्सीको सहयोगमा)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।