नेप्से स्थिर, कारोबार वृद्धि
कात्तिक २४, काठमाडौं । बुधवार नेप्से परिसूचक लगभग स्थिर रहे पनि कारोबार रकम झण्डै सय प्रतिशतले बढयो । मङ्गलवारको तुलनामा नेप्से शून्य दशमलव १६ अङ्कले घटेर ४ सय २३ दशमलव ६९ मा सीमित भयो । तर, कारोबार रकम रू १ करोड २२ लाखले बढेर २ करोड ४५ लाखभन्दा माथि पुग्यो । नेप्से घटेपछि सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट परिसूचक पनि घटे ।
बुधवार कारोबार भएका ६ समूहमध्ये विकास बैङ्क, जलविद्युत् र बीमा समूहका परिसूचक बढे भने बैङ्किङ र वित्त कम्पनी समूहका परिसूचक घटे । बुधवार नेप्से परिसूचक घटे पनि किन-बेच भएका शेयर सङ्ख्या, कारोबार सङ्ख्या र कारोबार भएका कम्पनीको सङ्ख्या बढयो । यसले शेयर बजारमा सुधारको सङ्केत मिलेको बुझाउँछ ।
बुधवार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, नेशलन लाइफ इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्सको प्रतिशेयर मूल्य क्रमशः रू. ५८, ३० र २० ले बढ्यो । फलस्वरूप, बीमासमूहको परिसूचक सबैभन्दा बढी १२ दशमलव ८६ अङ्कले बढेर ४ सय ८९ दशमलव ४६ मा पुग्यो । अधिकांश विकास बैङ्कहरूको शेयर मूल्य घटे पनि उद्यम विकास बैङ्कको शेयर बुधवार पहिलोपटक रू. ३ सय ५९ मा कारोबार भएकाले विकास बैङ्क समूहको परिसूचक १ दशमलव ४७ अङ्कले बढ्यो । बैङकिङ समूहमा उच्च मूल्य भएका कम्पनीहरू स्टयार्ण्र्डड चार्टर्ड, एभरेष्ट, नबिललगायतको शेयर मूल्य घटेपछि यस समूहको परिसूचक शून्य दशमलव ९५ अङ्कले घटेर ३ सय ९४ दशमलव ३२ मा सीमित भयो ।
बुधवार कुल १ हजार ३ सय ७३ कारोबारबाट ७८ कम्पनीका ८४ हजार ५ सय ६९ कित्ता शेयर किन-बेच भए । त्यसबाट रू. ३ खर्ब ५९ अर्ब ९१ करोडको कुल बजार पूँजीकरण भयो । कारोबार रकमका आधारमा स्टयार्ण्र्डड चार्टर्ड बैङ्क सबैभन्दा अगाडि रहयो । यसको रू. २४ लाखभन्दा धेरैको कारोबार भयो । कुल ७ हजार ४ सय ७४ कित्ता शेयरको किन-बेच हुँदा शेयर सङ्ख्याका आधारमा कृषि विकास बैङ्क सबैभन्दा अघि रह्यो । कारोबार सङ्ख्याका अधारमा सूर्यदर्शन फाइनान्स सबैभन्दा अघि रहयो । यसका १ सय ९५ कारोबार भए । बुधवार एस डेभलपमेण्ट बैङ्कको संस्थापक शेयर सबैभन्दा धेरै ३१ दशमलव २० प्रतिशतले घटेर रू. ३ सय ४४ मा बन्द भयो । त्यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ९८ प्रतिशतले बढेर रू. ६ सय ३९ मा बन्द भयो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।