बैंकहरुले अचाक्ली ब्याजदर बढाएको आरोप, व्यवसायीद्वारा फिर्ता लिन माग

Share News

पुस ९, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अत्याधिक बढाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति व्यक्त गरेको छ ।

शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै महासंघका अध्यक्ष नरेश कटुवालले बैंकको पछिल्लो कामकारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको बताएका छन् ।

कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनः बैंकको ब्याजदरका कारण समस्या खेपिरहेको महासंघको ठहर छ ।

उद्योग व्यवसाय गर्नेहरुले अहिले बैंकबाट सहज तरिकाले ऋण पाउन सक्ने अवस्था नभएको भन्दै विज्ञप्तिमा लगानीमा रहेको ऋणको पनि बैंकले मनपरी ढंगले ब्याज बढाइरहेको भन्दै बढाइएको ब्याज तत्काल फिर्ता लिन आग्रहसमेत गरिएको छ ।

‘पछिल्लो समय बैंकहरुले तरलता अभावका बहानामा उद्योगी व्यवसायीहरुलाई ऋण अड्काउने, मनपरी ढंगले ब्याजदर बढाउने लगायतका भइरहेका गतिविधिप्रति नेपाल राष्ट्रिय व्यवसायी महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’ अध्यक्ष कटुवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘अझ खासगरी साना तथा मझौला तथा घरेलु उद्योगी व्यवसायीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले गर्ने व्यवहार समेत फरक हुने र यस्तो अवस्थामा ठूला उद्योगी व्यवसायीहरुलाई मात्रै सहज तरिकाले ऋण प्रवाह गर्ने गरेको समेत गुनासो सुनिन आएको छ’, अच्काली बढाइएको ब्याजदर फिर्ता लिएर सहज तरिकाले उद्योग व्यवसाय गर्ने वातावरण निर्माण गर्न महासंघले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग समेत आग्रह गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।