बायोस्याण्ड वाटर फिल्टर

Share News

- सस्तो, सहज अनि भरपर्दो  

- शताब्दीऔं पुरानो पानी शुद्धीकरण प्रविधि

 

अधिकांश मानिस बगैंचा तथा अन्नबाली सिँचाइका लागि वर्षाको पानी सङ्कलन गर्छन् । तर, धेरैलाई थाहा नहुन सक्छ, त्यसरी सङ्कलित पानी पनि साधारण फिल्टर प्रक्रियाको माध्यमबाट पिउन योग्यसमेत हुन सक्छ । फिल्टर प्रक्रियाबाटै पानीमा रहेका हानिकारक रसायन तथा ब्याक्टेरियालगायत कीटाणु नष्ट हुने भएकाले पानी पिउन योग्य हुन सम्भव भएको हो । र, यसका लागि अत्याधुनिक प्रविधिसहितको वाटर फिल्टरको आवश्यकता पर्दैन । बायोस्याण्ड फिल्टरको साधारण प्रविधि अपनाएर नै पानी शुद्धीकरण गर्न सकिन्छ ।

बायोस्याण्ड फिल्टरले भौतिक तथा जैविक प्रक्रियाको सहायताले पानी सजिलै पिउन योग्य बनाउँछ । बालुवाको तहमा अनावश्यक तत्व सङ्कलन गरी यसले पानी स्वच्छ बनाउँछ । यस्तो फिल्टरले पानीमा रहेको ५ देखि ६४ प्रतिशतसम्म धातु र ९० देखि ९९ प्रतिशतसम्म कीटाणु (जस्तै– ब्याक्टेरिया, भाइरस, प्रोटोजोआ आदि) हटाउन सक्दछ । यो प्रविधिमार्फत वर्षाको पानीसमेत शुद्धीकरण गरी पिउने पानीको अभाव कम गर्न सकिन्छ । त्यसैगरी अन्य स्रोतबाट सङ्कलित पानीसमेत यसको सहायताले स्वच्छ बनाउन सकिन्छ ।

वायोस्याण्ड फिल्टर कसरी काम गर्छ ?
धारा, इनार, बोरिङ, खोला, पोखरी, वर्षालगायत स्रोतको पानी पनि यसमा प्रयोग गर्न सकिन्छ । आफ्नो वरपर उपलब्ध कुनै पनि सुलभ स्रोतको पानी यसका माध्यमबाट पिउन योग्य बनाउन सकिने भएकाले यो सबैका लागि उपयोगी प्रविधि हो । तर, शुद्धीकरणका लागि राखिने पानीमा क्लोरिनको प्रयोग भने गरिएको हुनुहुँदैन । किनभने, क्लोरिन प्रयोग गरिएको पानीले फिल्टरमा रहेको जैविक तहमा रहेका सूक्ष्म जीवाणु मार्दछ । त्यसैगरी अत्यधिक हानिकारक रसायनसहितको पानी पनि यसमा प्रयोग गर्नुहुँदैन । किनकि, अत्यधिक रसायन भएमा पानीलाई रसायनमुक्त गर्न यो प्रक्रिया मात्र पर्याप्त नहुन पनि सक्छ ।

सङ्कलित पानी कम्तीमा  दैनिक एकपटक  (तर, लगातार होइन) बायोस्याण्ड फिल्टरमा खन्याउने गर्नुपर्छ । यसरी खन्याइएको पानी विस्तारै फिल्टरमा बालुवा तथा गिट्टीबाट बनेको तहमा रहेका प्वालबाट छानिन्छ । यसरी छानिएको पानी फिल्टरमा रहेको आउटलेट ट्युबका सहायताले स्वचालित रूपमा सङ्कलित हुन्छ । गुरुत्वाकर्षणका सहायताले पानी छानिने भएकाले यसका लागि शक्तिको कुनै पनि स्रोतको आवश्यकता पर्दैन । यस प्रविधिको सहायताले १ घण्टामा करीब १२ देखि १८ लिटर पिउने पानी शुद्ध बनाउन सकिन्छ ।

प्याथोजिन तथा अन्य ठोसपदार्थ फिल्टरमा हुने जैविक तथा भौतिक प्रक्रियाबाट हट्छन् । यस क्रममा पानी मेकानिकल ट्र्यापिङ (अड्किनु), प्रिडेशन (अन्य जीवाणुबाट शिकार हुनु), अब्जर्पशन (सोस्नु) र नेचुरल डेथ अर्थात् प्राकृतिक मृत्यु आदि चरणबाट पार हुन्छ ।

बायोस्याड फिल्टरले पानीबाट केके हटाउन सक्छ ?
विश्वभरका वैज्ञानिकले आफ्ना कार्यशालामा यो प्रविधिको बारेमा गहन अध्ययन गरिसकेका छन् । अध्ययनले यो फिल्टर प्रक्रिया अपनाउँदा तल टेबलमा देखाइएका तत्व पानीबाट हटाउन सक्ने पुष्टि भएको छ ।

बायोस्याण्ड फिल्टर पानी शुद्धीकरण गर्ने एक पद्धति हो । यसले पानीलाई धेरै हदसम्म शुद्ध पार्न सक्छ । यो प्रक्रियाबाट छानिएको पानी प्राकृतिक रूपमा सफा र स्वच्छ देखिन्छ । तर, पानीमा विभिन्न मिश्रणसमेत हुन सक्ने भएकाले त्यसप्रति पनि सचेत हुनु आवश्यक छ । यस्तो जानकारी वा शङ्का भएमा पानी थप पिउन योग्य बनाउन अन्य प्रक्रिया अपनाउनुपर्ने हुन्छ ।

बायोस्याण्ड फिल्टरको इतिहास
युनिभर्सिटी अफ क्याल्गरी, क्यानडामा सन् १९९० तिर डा डेविड माञ्जले घरायसी प्रयोजनलाई लक्षित गरी बायोस्याण्ड फिल्टर प्रविधिको विकास गरेका हुन् । विकासोन्मुख देशमा यो प्रविधिको व्यापक प्रयोग गर्ने उद्देश्यले सन् २००१ मा सीएडब्ल्यूएसटी (सेण्टर फर अफोर्डेबल वाटर एण्ड स्यानिटेशन टेक्नोलोजी)को स्थापनासमेत गरियो । समयसँगै यससम्बन्धी खोज तथा थप अनुसन्धानले गति लिन थाल्यो । फिल्टरमा समयसापेक्ष विकास तथा परिमार्जनका लागि सीएडब्ल्यूएसटीले आवश्यक कदम चाल्दै आएको छ । यहाँ वर्णन गरिएको प्रविधि सोही विकासको दशौं संस्करण हो । सन् २०१२ सम्ममा सीएडब्ल्यूएसटीले विश्वभरका ६३ भन्दा बढी मुलुकमा ४ लाख ३० हजारभन्दा बढी बायोस्याण्ड फिल्टरको स्थापना गरिसकेको तथ्याङ्कमा उल्लेख छ ।


बायो स्याण्ड फिल्टर

बाँया
१. दि फ्युजर : पानी खन्याइँदा बालुवाको माथिल्लो तह तथा जैविक तहलाई सुरक्षा प्रदान गर्न
२. जैविक तह (बायो लेयर)
३. फिल्टर (छान्ने कार्य)का लागि बालुवा
४. गिट्टी (ग्राभेल) : बालुवाको तहलाई थाम्ने तथा ड्रेनेज ग्राभेल र आउटलेट पाइपमा बालुवा छिर्नबाट बचाउन ।
५. ड्रेनेज ग्राभेल : गिट्टीलाई थाम्ने तथा आउटलेट पाइपसम्म पुग्नबाट रोक्न ।

दायाँ
१. बिर्को : पानीमा बाहिरी पदार्थ मिसिन नदिन ।
२. आउटलेट ट्युब : छानिएको पानी बाहिर पठाउने ।
३. पानी सञ्चय गर्ने भाँडो

के हो बायोस्याण्ड फिल्टर ?
बायोस्याण्ड फिल्टरलाई छोटकरीमा बीएसएफसमेत भन्ने गरिन्छ । करीब २ सय वर्ष अगाडिदेखि नै प्रचलनमा रहेको यो पारम्परिक प्रविधिले बालुवाको सहायताले विभिन्न चरण पार गरी पानी शुद्धीकरण गर्न सकिन्छ । करीब १ मिटर अग्लो र शून्य दशमलव ३ मिटर चौडा आकारमा यसको निर्माण गरी घरमा यसलाई सजिलै प्रयोग गर्न सकिन्छ । यसको निर्माण कङ्क्रिट वा प्लाष्टिक दुवैको सहायताले गर्न सकिन्छ । बालुवा र गिट्टीको उपयुक्त मिश्रण गरी यसको निर्माण गरिन्छ । बालुवाले प्याथोजिन अर्थात् रोगका कीटाणु तथा अन्य ठोस पदार्थ पानीबाट हटाउन सघाउँछ । फिल्टरमा प्रयोग गरिएको बालुवाको माथिल्लो तह (२ सेमी)मा ब्याक्टेरियालगायत विभिन्न सूक्ष्म जीवको जैविक समुदायको विकास हुन्छ । यसलाई बायो–लेयर अर्थात् जैविक तह भनिन्छ । यो तहमा रहेका सूक्ष्म जीवले पानीमा रहेका प्याथोजिन खाइदिने हुनाले यसपछि पानी स्वच्छ तथा पिउन योग्य बन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।