पुस २१, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधवार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना रहेको छ ।
उक्त प्रणालीको प्रभाव आगामी शनिवारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठ जानकारी दिए ।
यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।
हाल देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बिहीवार देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी भू–भागमा हल्का वर्षाका साथै उच्च पहाडी भू–भागमा हिमपातको सम्भावना छ । आइतवारदेखि यो प्रणाली कमजोर हुँदै मौसममा क्रमिकरूपमा सुधार हुने देखिएको विभागले जानकारी दिएको छ ।
बुधवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव आठ डिग्री र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस छ । बुधवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम २३ दशमलव पाँच डिग्री सेल्सियस छ । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।