तार काटिदिएपछि आईएसपीले तिर्न धाले विद्युत् प्राधिकरणलाई पोल भाडा 

Share News

पुस २१, चितवन । चितवनमा सेवा दिइरहेका ईन्टरनेट सेवा प्रदायक कम्पनी(आईएसपी) हरुले विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रलाई करीब १ करोड रुपैयाँ पोल प्रयोग गरेको भाडा तिरेका छन । 

कार्यालयका अनुसार १४ ओटा ती सेवा प्रदायक कम्पनीले भदौयता ९६ लाख ८४ हजार ७९ रुपैयाँ भाडा तिरेका हुन् । कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलले बक्यौता रहेका ती कम्पनीहरुले भदौ पछि उक्त रकम तिरेको जानकारी दिए । 

पोल भाडा बक्यौता तिर्नेमध्ये सबैभन्दा बढी पोल भाडा चित्रवन युनिक केवल रहेको छ । उक्त केवलले ३० लाख ५५ हजार ६८ रुपैयाँ र सबैभन्दा कम पीडीएस सर्भर नेटवर्कले २५ हजार ४२५ रुपैयाँ बक्यौता तिरेको छ । 

यसैगरी कनेक्ट नेपालले १ लाख ७७ हजार ९७५रुपैयाँ, त्रिवेणी केवल नेटवर्कले १ लाख ९३ हजार ८०० रुपैयाँ, प्राइम नेटवर्कले २ लाख ३ हजार ४०० रुपैयाँ, फाइवर वल्र्ड कम्यूनिकेसन प्रालिले १ लाख २२ हजार ४० रुपैयाँ  र ब्रोडलिंकले १ लाख १हजार ७०० रुपैयाँ पोल भाडा तिरेका छन ।

 अन्य बक्यौता तिर्ने आईएसपी कम्पनीहरुमा वेबसर्फरले ३ लाख ५ हजार १०० रुपैयाँ,  डिसहोमले ६ लाख ६१ हजार ५० रुपैयाँ, सुबिसु नेटवर्कले २२ लाख २४ हजार ६६ रुपैयाँ, टेक माईन्डस कम्युनिकेशसनले २० लाख रुपैयाँ र एक्जिएटा एनसेल कम्पनीले ८५ हजार ४२८ रुपैयाँ तिरेको उनले  जानकारी दिए । 

यस्तै दुई कम्पनीले स्वघोषणा गरी पोड भाडा तिरेका छन । ती मध्ये एक कम्पनीले १ लाख ११ हजार ४८७ रुपैंया र अर्को स्वघोषणा गरी बुझाउने कम्पनीले ४ लाख १७ हजार ५४० रुपैंया पोल भाडा बुझाएका छन । स्वघोषणा गर्ने कम्पनीले कार्यालयसंँग समन्वय नगरी बैंकमा सिधै रकम जम्मा गरेकोले नाम नखुलेको उनले बताए । 

अन्य बक्यौता  ताकेता गरेसँगै आउने क्रम रहेको र सम्झौता अनुसारनै पोल भाडा तिरिएको पौडेलले बताए । हालसम्म सबै इन्टरनेट सेवा प्रदायक कम्पनीले ६० लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बांँकी रहेको कार्यालयले बताएको छ । 

लामोसमयपछि पनि आईएसपीहरुले प्राधिकरणलाई बक्यौता तिर्न अटेर गरेपछि कार्यालयले असोजमा उनीहरुको इन्टरनेट सेवाका उपकरणहरु जफत गर्ने  र तार काटिदिएको थियो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।