३१ वर्षिय सीएले शुरु गरेको नेपाली डटपेन उद्योग ३ वर्षमै स्थापित, मासिक १० लाख पेन विक्री

Share News

पुस २७, काठमाडौं। कैलाली टिकापुरका द्वारिका जोशी भारतको एक प्रतिष्ठित कम्पनीमा चार्टड एकाउन्टेन्ट (सीए) को काम गर्थे । 

अध्ययनको शिलशिलामा भारत पुगेका जोशी मासिक १ लाख रुपैयाँ तलवमा काम गरिरहे पनि उनको मनले भने नेपालमै केही नयाँ काम गरिरहेको हुन्थ्यो । 

सामान्य परिवारमा हुर्केका द्वारिकाले ठूलो उद्यम गर्न ठूलै पैसा जोहो गर्नुपर्छ भन्ने राम्ररी बुझेका थिए । फेरी नेपालमा त सानो ठूलो जुनसुकै उद्यम गर्दा पनि धेरै अवसर छ भन्ने कुराले उनी सानो लगानीको उद्योगको वारेमा सोच्न थाले ।

केही समय नेपाली बजारको अध्ययन गरेपछि जोशीले एकिन गरे- ‘नेपालमा डटपेन उत्पादन गर्ने उद्योग छैनन्, बजार भने राम्रो छ ।‘ त्यसपछि उनी १ लाख रुपैयाँ तलव आउने अडिटरको काम छोडेर नेपाल फर्किए । 

३१ वर्षको उमेरमै ३ वर्षअघि जम्मा २ लाख रुपैयाँ लगानीबाट शुरु गरेको उनको व्यवसायले शुरुदेखिनै उत्साह जगाई दियो । 

कैलालीको टिकापुरमा जोशीले बसुन्धरा पेन उद्योग शुरु गर्दा झोलामा पेन बोकेर टिकापुर, लम्की आसपासका पुस्तक पसलमा पुगे । ५ रुपैयाँ देखि ३५ रुपैयाँसम्मका पेन उत्पादन गरेका उनले १/१ प्याकेट पेन स्कुल नजिकका पुस्तक पसलमा छोडेर फर्के ।‘पेनको नीम र मसी गुणस्तरीय भएकाले विद्यार्थीहरुले शुरुमै मन पराई दिए’, जोशीले आर्थिक अभियानसँग भने, ‘नेपालमै बनेको पेन भनेपछि त्यसले पनि विद्यार्थीलाई झन तान्यो ।‘

‘त्यसपछि त एक प्यकेट लिनेले १० प्याकेट पेन अर्डर गरे, १० प्याकेट लिनेले १०० प्याकेट पेन अर्डर गरे । अहिले त माग धान्नै धौ-धौ भएको छ’, जोशीले भने । 

उनले शुरु गरेको डटपेन उद्योग ३ वर्षमै स्थापित भयो । नुनदेखि सुनसम्म सबै कुरा आयात हुने नेपालमा उत्पादन गर्न सके जुनसुकै वस्तु उत्पादन गरेपनि त्यसको बजार राम्रो भएको जोशीको अनुभव छ ।

दैनिक २० हजार पेन उत्पादन, ९० प्रतिशत आयात विस्थापित

शुरुमा दैनिक ४ हजार पेन उत्पादन गर्ने जोशीले त्यसको क्षमता विस्तार गर्दै अहिले दैनिक २० हजार पेन (८ घण्टामा) उत्पादन गरिरहेका छन् । झोलामा पेन बोकेर पसल पसल धाउँदै शुरु भएको उनको व्यवसायिक यात्रामा १० जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् ।

धनगढी, नेपालगञ्ज र सुर्खेतसम्म मात्रै पेन आपूर्ति गरिरहेका उनले कैलालीमा भने ९० प्रतिशत आयात प्रतिस्थापन गरेको दावी गरेका छन् ।उद्योगले अहिले मासिक करीब १० लाख पेन बेच्छ भने ३० लाख रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ । सानो लगानीको उनको उद्योगबाट ३ वर्षमा भएको सबै नाफा पुनः लगानी हुँदै गएको र त्यो करीब १ करोड रुपैयाँ पुगेको जोशीले बताए ।

कम्पनीले हाल बजारमा आफ्नै ब्राण्डमा सात प्रकारका डटपेन विक्री गरिरहेको छ भने पाँच रुपैयाँदेखि ३५ रुपैयाँसम्म पर्ने डट पेन र जेल पेनहरु बजारमा पठाइरहेको छ ।

उद्योग विस्तारको योजनामा जोशी

हाल अर्ध- स्वचालित मेसिनबाट पेन उत्पादन गरिरहेका जोशीले पूर्ण स्वचालित मेसिन जडान गरि उत्पादन गर्ने तयारीमा रहेको बताएका छन् ।   

कोभिडअघि जम्मा ४ हजार डटपेन बेचेर शुरु भएको उनको व्यवसाय अहिले मासिक करीब १० लाख डटपेन विक्री गर्ने भइसकेको छ । माग अनुसार आपूर्ति गर्न सके त मासिक २० लाखसम्मै पेन विक्री हुने उनको प्रक्षेपण छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही शहरको माग पनि धान्न नसकेपछि कम्पनीले अहिले उत्पादन क्षमता वृद्धि गर्ने योजना बनाएको छ । मासिक २० लाख डटपेन बजारमा पठाउने लक्ष्यसहित काम गरिरहेका जोशी ६ महीना भित्र दैनिक ६० हजार पेन उत्पादन गर्ने पूर्ण स्वचालित मेसिन ल्याउने तयारीमा छन् ।

‘सीए पढेर मासिक १ लाख रुपैयाँ तलव खाने मान्छे झोलामा डटपेन बोकेर बजार डुल्दा हाँसोमा उडाउनेहरु पनि थिए’, जोशीले भने, ‘अहिले भने सबैले हौसला दिइरहेका छन् ।’

नेपालमा यसप्रकारका उद्योग धेरै कम मात्र छन् । यसअघि स्थापना भएका डटपेन उद्योग पनि भारतीय व्यवसायीले सञ्चालन गरेका उद्योग छन् । नेपालीले नै सञ्चालन गरेको यो उद्योग सम्भवत : नेपालको पहिलो डटपेन उद्योग भएको जोशीको दावी छ । ‘कम्तिमा सुदूरपश्चिम र कर्णाली प्रदेशका लागि त पहिलो उद्योग नै हो’, उनले भने ।

विदेशी पेनको आयात रोक्न सकिन्छ

हाल कर्णाली र सुदूर पश्चिमलाई मुख्य बजार बनाएको कम्पनीले देशैभरी बजार विस्तार गर्ने योजना बनाएको छ । नेपाली बजारमा रहेका विदेशी कम्पनीहरुसँग प्रतिस्पर्धा गर्ने मात्रै नभई आयात नै विस्थापित गर्न सकिने जोशीको विश्वास छ । ‘कैलालीमा त अहिले ९० प्रतिशत विदेशी पेन विस्थापित भइसकेका छन् । अव यसलाई देशव्यापी बनाउन सकेको खण्डमा विद्यालय तहका विद्यार्थीले प्रयोग गर्ने विदेशी पेन विस्थापित नै गर्न सकिन्छ’, उनले भने ।

नेपालमै कच्चा पदार्थ, भारतमा निर्यात

नेपालमा अहिले कच्चा पदार्थको अभाव छ । उनले पनि उद्योगका लागि चाहिने कच्चा पदार्थ भारतबाटै आयात गरिरहेका छन् ।

तर डटपेनको लागि चाहिने कच्चा पदार्थ नेपालमै बनाउन सकिने पनि जोशीको विश्वास छ । नेपालमा फोहोरमा जाने सेतो प्लास्टिकलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्न सकिने जोशीको भनाइ छ । नेपालमै कच्चा पदार्थ उत्पादन गरेर पेन बनाउन सके नेपाली पेनको बजार भारतमा समेत रहेको उनले बताए ।

तर अहिले भने खुल्ला सीमानाका कारण भारतबाट अवैध रुपमा भित्रिएका पेन नेपाली उत्पादनका लागि चुनौती बनिरहेको उनले स्विकारे ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।