माघ १६, काठमाडौं। चीनको शेयर नियामक ‘चाइना सेक्युरिटीज एन्ड रेगुलेटरी कमिशन’ (सीएसआरसी) ले गएको हप्ता पश्चिमी देशका केही बैंक र सम्पत्ति व्यस्थापकहरुसँग अनलाइन बैठक बसेको छ ।
गत वर्ष चीनमा गरिएको नियामक कडाईले त्यहाँको आर्थिक परिदृश्यमा विदेशी बैंक र सम्पत्ति व्यवस्थापक कम्पनीमा छाएको चिन्ता साम्य पार्न सो बैठकको आयोजना गरिएको यस मामिलाबारे प्रत्यक्ष रुपमा जानकार तीन जना स्रोतको भनाइ उद्धृत गदैै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ ।
सीएसआरसीका उपाध्यक्ष फाङ सिङ्हाईले मंगलवार एक दर्जनभन्दा धेरै विदेशी वित्तीय संस्थाहरुसँग भर्चुअल बैठकको आयोजना गरेको आफ्नो नाम नखुलाउने शर्तमा एक स्रोतले बताएको छ । उक्त बैठकमा ब्ल्याकरक, क्रेडिट सुसी, फिडालिटी इन्टरनेशनल, गोल्डम्यान श्याख्स, जेपीमोर्गन, मोर्गन स्ट्यान्ली र यूबीएससमेतका कयौं संस्थाका वरिष्ठ कार्यकारीहरुको सहभागीता रहेको अन्य दुई स्रोतले बताएका छन् ।
बैठकमा फाङ्ले यस वर्ष चीनले ‘सम्मानजनक आर्थिक वृद्धिदर’ हासिल गर्छ भन्नेमा पुनः सहभागीहरुलाई आश्वस्त पार्न खोजेको एक स्रोतको भनाइ छ । चीनको नेतृत्वले सन् २०२१ मा गरिएको नियामक परिवर्तनले आर्थिक वृद्धिदरलाई असर पार्छ तर अर्थतन्त्र सोका कारण उत्पन्न पीडा सहन तयार छ भन्ने बुझेको पनि बताइएको छ ।
यस वर्ष चीनमा हरेक पाँच वर्षमा एक पटक आयोजना हुने कम्युनिष्ट पार्टीको कंग्रेसलगायत विविध महत्वपूर्ण कार्यक्रमहरु हुँदैछन् । यसले गर्दा यो वर्ष चाहीं फरक हुने फाङ्को भनाइ छ । यसबारे रोयटर्सले प्रश्न सोध्दा सीएसआरसीले तत्कालै केही प्रतिक्रिया नदिएको बताइएको छ ।
फिडलिटी र यूबिएसले पनि कुनै प्रतिक्रिया दिएका छैनन् । अरु कम्पनीले पनि केही बताएनन् । चीन स–साना स्तरमा देखिने कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न र ऋणमा चुर्लुम्म डुबेको घर जग्गा व्यवसायमा देखिएको कालो बादलबाट उब्रिन संघर्ष गरिरहेको छ । यस्तोमा त्यहाँको आर्थिक वृद्धिदर सुस्ताएको थियो ।
सुस्ताइरहेको अर्थतन्त्र
अघिल्लो वर्षको तुलनामा सन् २०२१ मा चीनको अर्थतन्त्र ४ प्रतिशतले बढेको थियो । यो डेढ वर्षयताकै सुस्त वृद्धिदर हो । अर्थतन्त्रलाई टेवा दिन चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ (पीबीओसी) ले ब्याजदर घटाउन थालिसकेको छ भने वित्तीय प्रणालीमा थप नगद प्रवाह पनि गरिरहेको छ ।
चीनको आर्थिक पुनःबहालीले लय समातेको भएपनि कमजोर खपत, प्रविधि क्षेत्रमा गरिएको नियामक कडाई एवम् उत्पादकत्वमा छाएको सुस्तीका कारण पुनःबहालीे असन्तुलित हुने सक्ने बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषले गएको शुक्रवार एक प्रतिवेदनमा भनेको थियो ।
गत वर्ष चीन सरकारले अनुचित प्रतिस्पर्धा र डेटा सुशासनलाई लक्षित गर्दै ठूला प्रविधि कम्पनी, निजी शैक्षिक कम्पनी र अन्य कम्पनीहरुमाथि छानबिन तीव्र पारेको थियो । यस्तो सुधारले आर्थिक वृद्धिदरमा मद्दत गरेपनि लगानीकर्ताको मनोबल बिगार्न सक्ने आईएमएफको भनाइ छ । एजेन्सीको सहयोगमा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।