फागुन ३, काठमाडौं । पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने नेपाल इन्फ्रास्ट्रक्चर बैंकले (निफ्रा) ले समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
मंगलवार निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र सिंगापुरस्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनलका कन्ट्री हेड सलिम जहाँ फहिमले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारीपत्र अनुसार, सिंगापुरस्थित ग्लोबल शहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ समूहको सदस्य एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माण गर्न आवश्यक हुने प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तरास्ट्रिय सफल अभ्यासहरु अध्ययन विश्लेषण सम्बन्धि कार्यहरुमा सहकार्य गर्नेछ ।
निफ्राले एसजेलाई आवश्यक सहजीकरण गर्ने र स्मार्ट सिटी विकासकालागि अन्य सरोकारवालाहरूसँगको समन्वयमा आवश्यक लगानी जुटाउने काम गर्नेछ । पाँचखाल नगरपालिकाले नगरपालिकाका जग्गाधनीहरूसँगको समन्वयमा जग्गा प्राप्ति गर्न आवश्यक सहजीकरण र सहकार्य गर्ने छ ।
यस प्रकारको नेपालकै पहिलो परियोजना पाँचखाल स्मार्ट सिटीले करीब ५ हजार ५०० रोपनी क्षेत्रफल ओगटने छ । स्मार्ट सिटीको विकासकालागि निफ्राले पाँचखाल नगरपालिकासँग छुट्टै समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।
यसै कार्यको लागि बजार अध्ययन सम्बन्धि कार्य गर्न निफ्राले अमेरिकास्थित परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्ट्स सँग सम्झौता गरेको छ । उक्त कम्पनीले सो कार्य आर्थिक वर्षको आठ हप्ताभित्र समपन्न गरि प्रतिवेदन पेश गर्ने तय भएको छ ।
उक्त कार्यक्रममा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, एसएमईसीका सलिम जहाँ फहिम र पाँचखाल नगरपालिकाका प्रवक्ता संजय लामाले आफ्नो मन्तव्य राख्दै यस कार्यमा हरसम्भव प्रयास र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।