कहिलेकाहीँ दैनिक क्रियाकलाप एवम् रङ–रमाइलो गर्ने क्रममा हामीले प्रयोग गर्ने मोबाइलमा पानी, अबिर, रङलगायत पदार्थ पस्न सक्छ । यस्तो हुँदा तपाईंलाई पनि तनाव हुन सक्छ । तर पनि आत्तिहाल्नु पर्दैन । प्रारम्भिक उपायबाटै यस्तो समस्या केही हदसम्म हटाउन सकिन्छ ।
चामलको उपयोग
फोनमा थोरै मात्रामा पानी पसेको छ भने फोनलाई सक्दो चाँडो स्विचअफ गर्नुपर्छ । यसो गरेपछि केही समयका लागि फोनलाई चामलमा राख्नुपर्छ । यदि फोनको भित्रसम्म पानी पसेको छैन भने त्यसलाई चामलले सजिलै सोसिदिन्छ । यद्यपि, पाउडरमा भने फोनलाई कदापि हाल्नुहुँदैन । यसो गर्दा पानी सोसिने सम्भावना रहे पनि पाउडर फोन भित्रसम्म गएर भरिने हुन्छ । यसले गर्दा फोनको स्पिकरलगायत उपकरणमा असर पुग्न सक्छ ।
भ्याकुम क्लिनर प्रयोग नगरौं
स्पिकर ग्रील (स्पिकरको अग्र भागमा हुने नरम स्थान) वा स्लोट (स्पिकर समायोजन गर्न बनाइएको स्थान)मा अबिरलगायत पदार्थ परेको छ भने त्यसलाई निकाल्न भ्याकुम क्लिनरको प्रयोग गर्नुहुँदैन । फोनमा ससाना सर्किटहरू रहने हुँदा भ्याकुमबाट निस्कने हावाको चापले तिनलाई नोक्सान पु¥याउन सक्छ । त्यस्तै, पानीले पखाल्ने प्रयास पनि गर्नुहुँदैन । त्यसको सट्टा कपासमा थोरै स्पिरिट राखेर विस्तारै सफा गर्न सकिन्छ । सकेसम्म ब्रसको प्रयोग वा फुकेर सफा गर्ने प्रयास गर्नु राम्रो हुन्छ, वा उचित मात्रामा हावा फाल्ने कुनै अन्य उपकरणको सहयोग लिन सकिन्छ ।
फोन पानीमा पसेमा के गर्ने ?
फोनमा पानी भित्रैसम्म पसेको वा पानीमै खसेको छ भने सबैभन्दा पहिले फोनलाई स्विचअफ गर्नुहोस् । यसपश्चात् तपाईंले खोल्न सक्ने उपकरण वा भाग, जस्तै– कभर, ब्याट्रीलगायतलाई फोनबाट निकालेर राम्ररी सुकाउनुहोस् । ती सामान पूर्णरूपमा सुकेपछि फोनमा पुनः समायोजन गरी चलाउनुहोस् । यसो गर्दा फोनले काम गर्न पनि सक्छ । फोनका सामग्री सुकाउन हेयर ड्रायर, हिटरलगायत विद्युतीय उपकरणको प्रयोग भने गर्नुहुँदैन ।
वारेण्टीप्रति सचेत हुनुहोस्
फोनमा रहेका सबै पेच आफै नखोल्नुहोस् । यसो गर्दा फोन बिग्रने सम्भावना बढ्नुका साथै खरीद गर्दा पाएको वारेण्टी सुविधासमेत व्यर्थ हुन्छ । पानीका कारण ब्याट्री फुलेको भए यसको प्रयोग नगर्नुहोस् । यदि गर्नैै परे पहिले उक्त ब्याट्री राम्ररी सुकाउनुहोस् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।