चैत ११, काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (शुक्रवार) अन्तिम दिन रहेको छ ।
कम्पनीको आईपीओमा आवेदन दिने ढिलो अवधि चैत २२ गतेसम्म रहेको भएपनि मागभन्दा बढी आवेदन परिसकेकोले छिटो अवधि अर्थात् शुक्रवार नै विक्री बन्द हुन लागेको हो । कम्पनीको आईपीओमा बिहीवारसम्म मागभन्दा ६ दशमलव ७९ गुणा बढी आवेदन परिसकेको छ ।
कम्पनीको आईपीओ बिहीवारसम्म १५ लाख ९२ हजार ७६३ जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीवार साँझ ५ बजेसम्म यी आवेदकहरुले १ अर्ब ९५ करोड ३४ लाख ५७ हजार रुपैयाँ बराबरको १ करोड ९५ लाख ३४ हजार ५७० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले मंगलवारदेखि २८ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणलाई छुट्याएको प्रति शेयर १०० रुपैयाँ अंकित दरको ३१ लाख २५ हजार कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरीएको छ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवमा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूर रेटिङ्ग प्रदान गरेको छ ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयमा ३१ लाख २५ हजार कित्ता शेयर फागुन २ गतेदेखि १० गतेसम्म विक्री खुला गरी फागुन २९ गते बाँडफाँट गरिसकेको छ । आईपीओमार्फत जुट्ने पूँजी कम्पनीले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न उपयोग गर्ने बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।