१०७ ओटा फल्याट भएको पोखरा रेसिडेन्सीको ईआईए क्षेत्र निर्धारण : १ करोड ३५ लाखमा अपार्टमेन्ट

Share News

काठमाडौं । पोखरा महानगरपालिका ३ तेर्सापट्टी (महेन्द्र पुल) मा निर्माण हुन लागेको पोखरा रेसिडेन्सी अपार्टमेन्ट भवन निर्माणका लागि प्रस्तावकले वातावरणीय प्रभाव मूल्याङ्कन रिपोर्ट (ईआईए) को क्षेत्र निर्धारण गर्दै सुझाव माग गरेको छ।

१० तले भव्य भवनमा १०७ युनिट अपार्टमेन्ट रहने छन् । २ बीएचके देखि ४ बीएचके सम्मका अपार्टमेन्टको मूल्य १ करोड ३५ लाख देखि २ करोड ५० लाख रुपैयाँसम्म रहेको छ ।

४ ओटा लिफ्ट सहित सम्पूर्ण सुविधा सहितको अपार्टमेन्टको १०० युनिटभन्दा धेरै अपार्टमेन्ट बुकिङ समेत भइसकेको कम्पनीले बताएको छ ।

प्रति वर्गफिट १७ हजार रुपैयाँ लागत लाग्ने अपार्टमेन्ट फूलफर्निस हुने कम्पनीको भनाइ छ । काठमाडौंमा रहेको कम्फर्ट हाउजीङ र पोखराका स्थानीय व्यवसायीहरूको साझेदारीमा उक्त अपार्टमेन्ट बन्न लागेको हो ।

साढे ६ रोपनी क्षेत्रफलमा बन्ने अपार्टमेन्टको लागत एक अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको थियो । तर अहिले निर्माण सामाग्रीको मूल्य बढेका कारण लागत केही बढ्न सक्ने कम्पनीको अनुमान छ ।

ईआईए स्वीकृत भएपछि निर्माणमा जाने

प्रस्तावक कम्फर्ट गुडविल डेभलपर्स प्रालीले आइतबार सुचना जारी गर्दै रेसिडेन्सी अपार्टमेन्ट भवन निर्माणबाट वातावरणमा पर्ने असर बारे सुझाव दिन सरोकारवालामा अनुरोध गरेको हो ।

पोखरा रेसिडेन्सी आपर्टमेन्ट भवनको वातावरणीय प्रभाव मूल्यांकन तयारीका लागि क्षेत्रफल निर्धारण गर्दै उक्त भवनबाट सम्बन्धितमा पर्नजाने असर बारे सुझाव दिन सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा निर्धारण गरिएको क्षेत्रफल अनुसार वडा नम्बर ३ मा १७ हजार ८ दशमलव २८ वर्ग मिटर क्षेत्रफलमा अपार्टमेन्ट भवन निर्माण गरिने छ।

‘वातावारणीय प्रभाव मूल्यांकन अध्ययन सम्बन्धि क्षेत्र निर्धारण गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्रणाली समाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीबीच के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो स्थानको महानगरपालिका तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ चौकी तथा सारोकारवाला व्यक्ति तथा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकाले यो सार्वजनिक सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र लिखित राय सुझाव उपलब्ध गराइदिनु अनुरोध गरिन्छ’ प्रस्तावक गुड विल डेभलपर्सले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

ईआईए निर्माण गरेर स्वीकृत भएपछि अपार्टमेन्टको निर्माण कार्य अघि बढ्ने कम्पनीले जनाएको छ । अहिले साइट क्लियरिङ गरेर निर्माण क्षेत्रको टुङ्गो लगाइएको हो । 

*ईआईएका लागि क्षेत्र निर्धाण हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । सम्पादक

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।