वैशाख २, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट लिमिटेडको लिलामी शेयर विक्रीका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र शुक्रवार खोलिने भएको छ ।
कम्पनीले चैत १६ गतेदेखि २४ गतेसम्म अवितरित हकप्रद शेयर विक्रीको लागि गोप्य शिलबन्दी बोलपत्र माग गरेको थियो । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड, सुन्धारा, काठमाडौंमा दिउँसो १ बजे गोप्य शिलबन्दी बोलपत्र खोलिने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले यस अघि माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको १ लाख २० हजार १२० कित्ता हकप्रद शेयर लिलामीमा विक्री गरेको हो । प्रतिशेयर रू. १०० तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो ।
यो शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल रू. २० करोड चुक्तापूँजी रहेको कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको अनुपातमा रू. ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर विक्री गरेको हो ।
अवितरित हकप्रद शेयर समेत विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू. ५० करोड पुग्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।