वैशाख ५, काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको सोमवार कारोबार हुन सकेन ।
स्पेशल प्रि - ओपन सेसनमा अर्डर म्याचिङ नभएपछि कम्पनीको शेयर कारोबार खुला हुन नसकेको हो । प्रि ओपन सेसनमा पहिलो कारोबार भएपछि मात्र नियमित कारोबार हुने गर्दछ । अव कम्पनीको शेयर मंगलवार स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि मात्र नियमित कारोबार खुला हुनेछ ।
कम्पनीको आइतवार ३ करोड १२ लाख ५० हजार बराबरको साधारण शेयर सूचीकृत भएको थियो । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता रू.९१ दशमलव ६ देखि २७५ दशमलव ५८ मूल्य रेञ्ज तोकेको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको ३१ लाख २५ हजार कित्ता, सर्वसाधारण लगानीकर्ता(सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) का लागि निष्कासन गरेको ३१ लाख २५ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड ५० लाख कित्ता गरेर कुल ३ करोड १२ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
कम्पनीको स्टक सिम्बोल जीभीएल रहेको छ । साथै कम्पनीले सूचीकरणपछि दिनुपर्ने आरटिएस सेवा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडबाट हुने कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।