वैशाख २१, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज (बुधवार) देखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले १० वर्षे अवधिको वार्षिक साढे १० प्रतिशत ब्याजदर ‘१०.५० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. २ अर्ब २० करोड बराबरको २२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये रू. ८८ करोड बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी रू. १ अर्ब ३२ करोड बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुमा विक्री गरिनेछ ।
सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये पनि बैंकले १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यो ऋणपत्र छिटोमा वैशाख २५ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि जेठ ४ गतेसम्म विक्रीको मिति तय भएको छ ।
इच्छुक खरीदकर्ताहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै आवेदकहरुले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले बैंकलाई मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।
यो रेटिङ प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको मानिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।