वैशाख २५, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आज (आइतवार) देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८ दशमलव २२ प्रतिशत शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले ९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्कान गर्न लागेको हो ।
आईपीओ निष्कासन बन्द छिटोमा जेठ ८ गते हुनेछ भने ढिलोमा जेठ २३ गते हुनेछ । स्थानीयले उक्त आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ इक्रा नेपालले इक्राएनपी आईआर बी प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।
हाल संस्थापकतर्फ रू. ८७ करोड चुक्तापूँजी कायम रहेको कम्पनीले स्थानीयमा आईपीओ जारी गरेपश्चात् सर्वसाधारणमा कर्मचारी सहित १२ दशमलव ३३ प्रतिशत शेयर जारी गर्नेछ ।
हाल संस्थापकतर्फ ७९ दशमलव ४५ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणमा समेत शेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ५० लाख पुग्नेछ ।
कम्पनीले कास्की जिल्लामा ११ दशमलव ८८ मेगावाट क्षमताको नामार्जुन मादी जलविद्युत् आयोजना निर्माण गरी २०७७ साल असोज १२ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।
आर्थिक वर्ष २०७७/७८ सम्म कम्पनी रू. १ अर्ब ३१ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ३३ रहेको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरण अनुसार भने कम्पनी रू. ७ करोड २८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको देखिन्छ ।
यस अवधिसम्म भने कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ६७ दशमलव ९६ रहेको छ । तर, कम्पनीले वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ३३ कै आधारमा दोस्रो बजारमा पहिलो कारोबारका लागि मूल्य रेञ्ज प्राप्त गर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।