घर जग्गाको विक्री झन्डै ५०% ले घटिरहेका बेला चीनले ५ महीनामा दोस्रोपटक घटायो ब्याजदर

Share News

पेचिङ (चीन) । चीनले शुक्रवार प्रमुख ब्याजदर घटाएको छ । पछिल्लो समय सुस्ताइरहेको घरजग्गा बजारलाई उद्धार गर्नका लागि केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ (पीबीओसी)ले  पाँच वर्षे कर्जाको प्रमुख दर (एलपीआर) १५ आधार अंकले घटाएर ४ दशमलव ४५ प्रतिशतमा झारेको छ । एलपीआरमा गरिएको यस वर्ष शुरु भएयताको यो दोस्रो कटौती हो ।

एलपीआर यो स्तरमा यस अघि कहिले पनि कटौती गरिएको थिएन । पीबीओसीले एलपीआर ५० आधार बिन्दुले कटौती गर्ने अनुमान अधिकांश विश्लेषकहरुले गरेका थिए । एलपीआर भनेको चीनमा वाणिज्य बैंकहरुले आफ्नो उत्कृष्ट उपभोक्ताहरुलाई दिने कर्जा दर हो । यसले अन्य खालको कर्जाको लागि पनि बेञ्चमार्कको काम गर्छ । पछिल्लो समय चीनको घरजग्गा बजारमा संकट उत्पन्न भएको छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण आर्थिक गतिविधि सुस्ताएको थियो ।

यसैबीच घरजग्गा बजार झनै प्रभावित भएको थियो ।  गत वर्षको सोही अवधिको तुलनामा अप्रिलमा घरजग्गा बजारको विक्री ४७ प्रतिशतले घटेको त्यहाँको राष्ट्रिय तथ्यांक कार्यालयले यो हप्ताको शुरुमा सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

देशकार ७० ओटा शहरमा लगातार आठौं महीना पनि घरको मूल्य घटेको छ । शुक्रबारको कदमले चाँहि नेतृत्वले सकेसम्म छिटै घरजग्गा बजारको उद्धार गर्न खोजेको संकेत गरेको एएनजे रिसर्चका लागि वरिष्ठ चिनियाँ रणनीतिज्ञ चाओफेङ सिङ भन्छिन् ।

कोभिड नियन्त्रण गर्न लगाइएको कठोर बन्दाबन्दीका कारण दोस्रो त्रैमासमा चीनको अर्थतन्त्र खुम्चिन सक्ने अनुमान गर्न लागिएको छ । गएको महीना उपभोक्ता खर्च र कारखाना गतिविधि दुबै ह्वात्तै घटेका थिए । बेराजगारी दर भने सन् २०२० को शुरुमा कोरोना भाइरसको महामारी शुरुआती चरणमा भएको बेलायताकै उच्च स्तरमा पुगेको छ । जीडीपीको ३० प्रतिशत हिस्सा ओगटेको घरजग्गा बजारमा संकट गहिरिदै गइरहेको छ । गत वर्ष कर्जा तिर्न नसकेपछि देशको सबैभन्दा ठूलो रियल इस्टेट कम्पनी एभरग्रान्डेमा व्यापक पुनःसंरचना भइरहेको छ ।

एभरग्रान्डे धराशयी बन्यो भने यसको लहरे प्रभाव घरजग्गा उद्योगभर पोखिन सक्ने विश्लेषकहरुले बताउँदै आइरहेका छन् । सरकारले कर्जा नीति कसिलो बनाएको अनि अर्थतन्त्र सुस्ताएपछि माग घटेपछि गत वर्षदेखि नै घरको विक्री घटेको छ । पछिल्लो समय कोभिडका कारण लगाइएको लकडाउनले उद्योग झनै मारमा परेको छ । बजारलाई टेवा दिन पीबीओसीले यही हप्ता अन्य उपायहरु पनि घोषणा गरेको थियो । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।