जेठ १३, धरान । धरानका प्रोफेसनल गल्फर शुक्र बहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फको उपाधि बिहीवार जितेका छन् ।
गोकर्ण गल्फ क्लबको गल्फ कोर्समा बिहीवार भएको प्रतिस्पर्धामा शुक्रले ३ अन्डर ६९ को स्कोरसहित समग्रमा १९ अन्डर २६९ को स्कोर निकाल्दै उपाधि उचालेका हुन् ।
उपाधि जित्ने क्रममा शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले पछि पारे । यससँगै शुक्रले करियरको सातौ उपाधि उचालेका छन् । उपाधिसँगै शुक्रले दुई लाख ५० हजार रुपैयाँ पाएका छन् ।
यस्तै पहिलो पटक नेपालको नम्बर एक गल्फर पनि बनेका छन् । शुक्रको यो सिजनको कुल ८ मध्ये ५ प्रतियोगिता मात्र खेलेपनि सर्वाधिक ६ लाख ६३ हजार ५०० नगद पुरस्कार सहित नम्बर एक बनेका हुन् । ६ स्ट्रोकले पछि परेका निरज २ ओभर ७४ सहित समग्रमा १३ अन्डर २७५ सहित दोस्रो भए ।
समग्रमा १२ अन्डर २७६ सहित तेस्रो भएका भुवनले नम्बर एक गल्फरको स्थान गुमाए । निरजले अन्तिम दिन २ अन्डर ७० स्कोर जोडे । यो सिजन कुल ५ लाख ८० हजार ५०० नगद पुरस्कार सहित दोस्रो स्थानमा अटाएका हुन् ।
यस्तै, एमेच्योर वाङ्गचेन ढोन्डुपले १ ओभर ७३ सहित समग्रमा ११ अन्डर २ सय ७७ सहित एमेच्योरतर्फ उपाधि जिते । समग्रमा भने उनी चौथो भए । अर्का एमेच्योर महेन्द्र फगामी समग्रमा १० अन्डर २७८ सहित एमेच्योरतर्फ दोस्रो भए । उनले अन्तिम दिन ३–अन्डर ६९ को स्कोरकार्ड बनाउँदै पाँचौ भए ।
एमेच्योरतर्फ एकक्षत्र राज गरिरहेको सुबास तामाङले समग्रमा ७ अन्डर २८१ सहित पूर्ण बहादुर शर्मासँग संयुक्त रुपमा छैठौं स्थान बाँडे । समग्रमा ५ अन्डर २८३ सहित एमेच्योर आरव डी शाहले आठौ स्थानमा प्रतियोगिताको अन्त्य गरे ।
भुवन कुमार रोक्का र रबि खड्काले समग्रमा ३ अन्डर २८५ सहित संयुक्तरुपमा नवौ स्थान बाँडे । अन्तिम दिन भुवनले २ ओभर ७४ र रबिले १ ओभर ७३ मा खेल सकाए । एमेच्योर सद्भाव आचार्य समग्रमा २ अन्डर २८६ सहित ११औं र समग्रमा इभन पार २८८ सहित सूर्य प्रसाद शर्मा १२ औ स्थानमा रहे ।
सुर्य नेपाल टुरमा लामो समय सहयोग गर्ने रामजी राजबाहक तथा रमेश नगरकोटी र समिर तामाङलाई कदर पत्र सहित सम्मान गरिएको थियो । चार दिने प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योर सहित ५४ खेलाडीको सहभागिता रहेको थियो ।
विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीपरा लहेरी, नेपाल प्रोफेसनल गल्फर्स संघका अध्यक्ष रबिन्द्र मान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरेका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।