दोस्रो चरणमा जेठ २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै दोर्दी खोला जलविद्युत् 

Share News

जेठ १७, काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । 

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । 

पहिलो चरणमा कम्पनीले वैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि प्रतिकित्ता रू. १०० अंकित दरको १० लाख ५४ हजार २६० कित्ता आईपीओ विक्री खुला गरेको थियो । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ७ लाख ५६ हजार ४२० कित्ता आईपीओ जेठ १२ गते बाँडफाँट गरिएको हो ।

आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरी विक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता रू. १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । 

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकिएको छ । यी वाहेक बाँकी २० लाख १९ हजार ८६९ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १७ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । छिटो अवधि जेठ ३१ गतेसम्म तोकिएको यो आईपीओ सो अवधिभित्र विक्री नभएमा भने ढिलो अवधि असार ९ गतेसम्म विक्रीमा रहनेछ । 

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाईे दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट समेत आवेदन दिन पाउने व्यवस्था छ । साथै मेरो शेयर एप वा वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गर्दैछ । यो आयोजनाको  अनुमानित निर्माण लागत कुल रू. २ अर्ब ६९ करोड ४४ लाख ३ हजार रहेको छ । 

आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा रू. १ करोड ८१ लाखभन्दा बढी छ । कम्पनीको सो अवधिसम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. शून्य दशमलव १० र प्रतिशेयर नेटवर्थ रू. १०२ दशमलव २७ रहेको छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् :

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।