कृषियोग्य जग्गाको कित्ताकाटमा क्षेत्रफल तोकियो, उपत्यकामा १ रोपनी र तराईमा २ कट्ठा घटी नपाउने

Share News

जेठ २४, काठमाडौं । सरकारले कृषियोग्य जग्गाको कित्ताकाटको लागि न्युनतम क्षेत्रफल तोकेको छ ।

भू- उपयोग नियमावली २०७९ मा उपत्यकामा १ रोपनी र तराईमा २ कट्ठाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने उल्लेख गरिएको छ ।

आवासीय क्षेत्रमा परेका जग्गाहरू भने न्युनतम ४ आना वा ७ धुर भन्दा कम हुने गरि कित्ताकाट गर्न नपाइने भएको छ ।

तर कित्तामिलान गर्ने उदेश्यले भने त्यो भन्दा सानो क्षेत्रफलको पनि कित्ताकाट गर्न पाइने छ । त्यसरी काटिएको कित्ता साबिककै कित्तामा मिलान गर्नुपर्ने छ । छुट्टै किनबेच गर्न भने पाइने छैन ।

१ रोपनी वा २ कट्ठा जग्गा कित्ताकाट गर्दा भने जग्गाको चौडाइ भन्दा ४ गुणा बढी लम्बाइ नहुने गरि कित्ताकाट गर्नुपर्ने छ । अर्थात १ रोपनी जग्गा किन्दा चौडाइ ४० फिट भएमा लम्बाइ १६० फिटभन्दा बढी राख्न पाइने छैन । चौडाई ६० फिट भएमा लम्बाइ २४० फिटभन्दा बढी राख्न पाइने छैन ।

कस्तो जग्गा कृषिक्षेत्र ?

सरकारले बसोबास र व्यावसायिक क्षेत्र वा अन्य उपयोग भएको क्षेत्रसँग जोडिएको भए तापनि कित्ताको क्षेत्रफल ५ हजार वर्गमिटरभन्दा बढी ( करीब १० रोपनी वा १५ कठ्ठा) भई खेती गरिएको वा खनजोत गरिएको जग्गा  कृषि क्षेत्र हुनेछ । 

न्यूनतम पूर्वाधारको विकास भएको कित्ता जग्गा रहेको ठाउँबाट १०० मिटरको अर्धव्यासको क्षेत्रमा १५० एकात्मक परिवार आवास इकाइ वा १० भन्दा बढी संयुक्त परिवार आवास इकाइ भएको जग्गालाई आवासीय जग्गाको रुपमा सरकारले वर्गीकरण गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।