अन्तत : इन्भेष्टमेण्ट बैंक र मेगा बैंक एकापसमा गाभिने, कति छ त शेयर मिलान अनुपात ?  

Share News

जेठ २८, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक  एकापसमा गाभिने सम्झौता भएको छ ।

काठमाडौंमा शुक्रवार आयोजित एउटा कार्यक्रममा सम्झौतापत्रमा इन्भेष्टमेण्टको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा मेगा बैंकको तर्फबाट अध्यक्ष भोजबहादुर शाहले  हस्ताक्षर गरेका थिए ।

यी दुई कम्पनी एकापसमा गाभिएपछि चुक्तापूँजी, कर्जा लगानी लगायतका आधारमा सबैभन्दा ठूलो बैंक हुने छ ।  हाल इन्भेष्टमेण्टको चुक्तापूँजी १८ अर्ब ३१ करोड  रुपैयाँ तथा मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । सम्झौतापत्रमा उल्लेख भएअनुसार मर्जपछि कम्पनीको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक रहने छ ।

त्यस्तै सञ्चालक समितिको अध्यक्ष पृथ्वीबहादुर पाँडे हुने छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे रहने छन् । मर्जपछि बन्ने कम्पनीको सञ्चालक समितिमा दुबै कम्पनीको प्रतिनिधित्व रहने छ । 

 स्रोतका  अनुसार दुई कम्पनी १०० बराबर ९० रुपैयाँको अनुपातमा एकापसमा गाभिने छन् । इन्भेष्टमेण्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकको ९० कित्ता शेयर कायम हुनेगरी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ। असोज मसान्तसम्ममा एकीकृत कारोबार शुरु गर्ने गरी दुवै कम्पनीले डीडीए, साधारण सभा लगायतका कामलाई तीब्र बनाउने गरी तयारी भइरहेको स्रोतले बताएको छ । 

दुबै कम्पनीले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको नीति र कम्पनीहरुको दिर्घकालीन रणनीतिक योजनासमेतलाई ध्यानमा राख्दै सम्झौता गरेर अघि बढ्ने बताएका छन् ।

सम्झौतापछि दुवै कम्पनीका अध्यक्षहरुले एकापसमा गाभिए पश्चात् पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा वृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने बताएका छन् ।

 क वर्गकै नेपाल इन्भेष्टमेण्ट र हिमालयन बैंक बीचको मर्जर प्रक्रिया भाडिएपछि इन्भेष्टमेण्टले मेगा बैंकलाई मर्जर पार्टनर बनाएको हो । अहिले अर्को नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने प्रक्रिया चलिरहेको छ ।

यसअघि नेपालमा पछिल्लोपटक  बीग मर्जर भएको थियो । बीग मर्जर अन्तरगत ग्लोबल आईएमई बैंकले क वर्गकै जनता बैंकलाई प्राप्ति गरेको थियो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।