‘सावधानी अपनाए पाठेघर खस्ने समस्याबाट जोगिन सकिन्छ’

Share News

महिलाहरूको पाठेघर (आङ) खस्ने समस्या गाउँघरमा बढी देखिन्छ । कम उमेरमा विवाह गरेर बढी बच्चा जन्माउनु, जन्मान्तर कम हुनु, बच्चा पाएपछि पोषणयुक्त खानेकुराको अभाव, सुत्केरी अवस्थामै गह्रौं भारी उचाल्नेजस्ता कारणले यो समस्या आउने गरेको पाइएको छ । 

घरमै बच्चा जन्माउनु, प्रसव पीडा बढी समयसम्म हुनु, तानेर बच्चा निकाल्ने गर्दा पनि आङ खस्ने सम्भावना हुन्छ । पछिल्लो समयमा गर्भवती महिलाहरूको नियमित स्वास्थ्य जाँच र अस्पतालमा बच्चा पाउने परिपाटीले यस्तो समस्यामा सुधार आएको पनि पाइएको छ । परिवार नियोजनका साधनहरूको सहज उपलब्धता र प्रयोग तथा कम बच्चा जन्माउने परिपाटीले पनि  समस्यामा कमी आएको छ ।

तर, आङ खसेमा के गर्ने ? यसका पनि बेग्लाबेग्लै चरणहरू हुन्छन् । भखैरै पाठेघर तल झरेको मात्रै छ भने आत्तिनु पर्दैन । पोषणयुक्त खानेकुरा खाने, टुक्रुक्क नबस्ने, रक्सी चुरोट नखाने गरे र अन्य सावधानी अपनाएमा ठिक हुन्छ । दोस्रो चरणमा हो भने ‘रिङ पेसरी’ दिएर पाठेघरलाई तल खस्नबाट रोक्ने र पेल्भिक व्यायाम गरेर ठिक गर्न सकिन्छ । 

यस्तो व्यायाम १५/ १५ मिनट दिनमा ३ पटक गर्नु पर्दछ । तेस्रो र चौथो चरणको समस्याको समाधान भनेका शल्यक्रिया नै हो । तर, यस्तो समस्या आएपछि उपचार गर्नुभन्दा समस्या हुनै नदिनु उत्तम उपाय हो । त्यस कारण कस्तो व्यवहारले यो समस्या निम्तिन सक्दछ भन्नेमा सावधानी अपनाउनु आवश्यक छ । 

महिलाको विवाह कम्तीमा २० वर्षको उमेर पूरा भएपछि गर्ने, एउटा बच्चा भएको कम्तीमा ३३ महीनापछि मात्रै अर्को बच्चा जन्माउने, धेरै बच्चा नजन्माउने, रक्सी र चुरोटजस्ता वस्तुको सेवन नगर्ने, पोषणयुक्त खानपानमा ध्यान दिने, गर्भवती र सुत्केरी अवस्थामा स्वास्थ्य परीक्षण र सुरक्षित मातृत्वको प्रभावकारी व्यवस्थापन गर्ने हो भने यस्तो समस्याबाट टाढै रहन सकिन्छ । 

शान्ति पोलिक्लिनिक, वीरगञ्जमा कार्यरत वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ प्राडा  राजेन्द्रकुमार चौधरीसित गरिएको कुराकानीमा आधारित ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।