जेठ ३१, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।
कम्पनीको आईपीओमा सोमवारसम्म मागभन्दा ६ दशमलव ४० गुणा बढी आवेदन परिसकेको छ । मागभन्दा बढी आवेदन परिसकेकोेले यो आईपीओ छिटो अवधिमै विक्री बन्द हुन लागेको हो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमवार साँझ साढे ५ बजेसम्म ११ लाख १४ हजार ८०६ जनाले रू. १ अर्ब २९ करोड ३२ लाख ६७ हजार बराबरको १ करोड २९ लाख ३२ हजार ६७० कित्ताका लागि आवेदन दिएका छन् ।
पहिलो चरणमा कम्पनीले वैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि प्रतिकित्ता रू। १०० अंकित दरको १० लाख ५४ हजार २६० कित्ता आईपीओ विक्री खुला गरेको थियो । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ७ लाख ५६ हजार ४२० कित्ता आईपीओ जेठ १२ गते बाँडफाँट गरिसकेको छ ।
आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरी विक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता रू. १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।
सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकिएको छ । यी बाहेक बाँकी २० लाख १९ हजार ८६९ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।
यो आईपीओ खरीदका लागि १० कित्तादेखि अधिकतममा १७ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट समेत आवेदन दिन पाउने व्यवस्था छ । साथै मेरो शेयर एप वा वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजना निर्माण गर्दैछ । यो आयोजनाको अनुमानित निर्माण लागत कुल रू. २ अर्ब ६९ करोड ४४ लाख ३ हजार रहेको छ ।
आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा रू. १ करोड ८१ लाखभन्दा बढी छ । कम्पनीको सो अवधिसम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. शून्य दशमलव १० र प्रतिशेयर नेटवर्थ रू. १०२ दशमलव २७ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।