१८ महीनायताकै न्यून स्तरमा ओर्लियो बिट्क्वाइनको भाउ 

Share News

टोकियो (जापान) । मंगलबार डिजिटल मुद्रा बिट्क्वाइनको भाउ घटेर १८ महीनायताकै न्यून स्तरमा झरेको छ । क्रिप्टो इकोसिष्टममा देखिएको प्रणालीगत जोखिमले डिजिटल एसेट बजारमा मन्दी तीव्र पार्ने चिन्ताबीच कर्जा मञ्च सेल्सियसले क्रिप्टोकरेन्सी झिक्न रोक लगाएपछि बिट्क्वाइन ओरालो लागेको हो ।

मंगलबार बिट्क्वाइनको भाउ प्रतिगोटा २३ हजार ३३६ डलरमा आएको छ । यो सन् २०२० को डिसेम्बरयताकै न्यून हो । अघिल्लो दिनको तुलनामा बिट्क्वाइनको भाउ १५ प्रतिशतसम्म घटेको छ । क्रिप्टोबजारभर सेलअफ जारी रहँदा अन्य क्रिप्टोकरेन्सीको भाउ पनि घटेका छन् । सबैभन्दा धेरै मूल्य भएका सय क्रिप्टोकरेन्सीको मूल्य मापन गर्ने एमभीआईएस क्रिप्टोकम्पेयर डिजिटल एसेट्स १०० सूचक १५ प्रतिशतसम्म घटेको छ ।

नोभेम्बरमा ३० अर्ब डलर माथि उक्लिएको क्रिप्टो बजारको आकार सोमबार बिहान न्यूयोर्कमा ९ः४८ बजेतिर १० खर्ब २० अर्ब डलरमा झरेको क्वाइनगेक्कोको तथ्यांकले देखाएको छ । अवस्था यो भन्दा पनि झनै खराब हुन सक्ने विश्लेषकहरुले बताएका छन् । अमेरिकी केन्द्रीय बैंकले थप आक्रामक रुपमा ब्याजदर बढाउने अनुमान बढेपछि क्रिप्टो बजारमा सेल अफ देखिएको हो ।

मेमा अमेरिकामा महँगी ४० वर्षकै ताजा उच्च स्तरमा उक्लिएको शुक्रबार सार्वजनिक भएको तथ्यांकले देखाएको थियो । हालैको महीनामा  फेडले मौदिक नीति कसिलो बनाउन थालेपछि विशेषगरी क्रिप्टो करेन्सी मारमा परेका छन् । गत महीना टेर्रा÷लुना इकोसिष्टम धराशयी भएको र कर्जादाता सेल्सियसले एशियाली समयअनुसार सोमबार बिहान क्रिप्टोकरेन्सी झिक्न रोक लगाएपछि क्रिप्टो बजारमा लगानीकर्ताको मनोबल झनै खस्किएको छ । भाउ यो भन्दा पनि तल झर्यो भने निकट भविष्यमा कुनै भरपर्दो टेवा नमिल्ने चेतावनी पनि विज्ञहरुले दिएका छन् । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।