अन्तिम दिनसम्म १५ लाख ५९ हजारले भरे दोर्दी खोलाको आईपीओ, मागभन्दा ८.८५ गुणा बढी आवेदन

Share News

जेठ ३१, काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ १५ लाख ५९ हजार ५८ जनाले भरेका छन् ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अन्तिम दिन अर्थात् मंगलवार साँझ साढे ५ बजेसम्म यी आवेदकहरुले रू. १ अर्ब ७८ करोड ७५ लाख ६२ हजार बराबरको १ करोड ७८ लाख ७५ हजार ६२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ८ दशमलव ८५ गुणा बढी आवेदन परेको हो ।

पहिलो चरणमा कम्पनीले वैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि प्रतिकित्ता रू. १०० अंकित दरको १० लाख ५४ हजार २६० कित्ता आईपीओ विक्री खुला गरेको थियो । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ७ लाख ५६ हजार ४२० कित्ता आईपीओ जेठ १२ गते बाँडफाँट गरिसकेको छ ।

आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरी विक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता रू. १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । 

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकिएको छ । यी बाहेक बाँकी २० लाख १९ हजार ८६९ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।

कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजना निर्माण गर्दैछ । यो आयोजनाको अनुमानित निर्माण लागत कुल रू. २ अर्ब ६९ करोड ४४ लाख ३ हजार रहेको छ । 

आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा रू. १ करोड ८१ लाखभन्दा बढी छ । कम्पनीको सो अवधिसम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. शून्य दशमलव १० र प्रतिशेयर नेटवर्थ रू. १०२ दशमलव २७ रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।