एचआईडिसीएलको ३ करोड ३० लाख कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला 

Share News

असार ५, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले ३ करोड ३० लाख कित्ता संस्थापक शेयर आज अर्थात् असार ५ गतेदेखि लिलामीमा विक्री खुला गरेकोे छ । 

कम्पनीले २०७८ साल साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको उक्त परिमाणको शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेकोे हो ।

पहिलो चरणमा विक्री खुला गर्दा न्यूनतम १ करोड कित्ताको सीमाका कारण वितरण हुन सकेको यो शेयर विक्रीकै लागि कम्पनीले न्यूनतम १ करोडको सीमाको व्यवस्था परिवर्तनका लागि नियमावली संशोधन गरेको थियो । 

नियमावली संशोधनपश्चात कम्पनीले यो शेयर विक्री खुला गर्दा विक्रीकै क्रममा नियामक निकायको निर्देशनमा रोक्का गरेको थियो । नियामकको निर्देशनमै कम्पनीले पुनः यो शेयरको लिलामी प्रक्रिया अघि बढाएको हो ।

यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । खरीद गर्न इच्छुक व्यक्तिहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

यो शेयर खरीदका लागि न्यूनतम १०० कित्ताको सीमा तोकिएको छ भने अधिकतमको लागि कुनै हद लाग्ने छैन । यो शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरू विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरबाट पनि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने व्यवस्था छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।