सुरक्षाका लागि गुणस्तर

Share News

-  गुणस्तरीय विद्युतीय सामग्रीको प्रयोगमा जोड

- नयाँ लगानी भित्रने अपेक्षा

काठमाडौं । सातौं संस्करणको ‘निक इलेक्ट्रो टेक २०१४’ काठमाडौंको भृकुटीमण्डपमा शुक्रवारदेखि शुरू हुँदै छ । गुणस्तरीय विद्युतीय सामग्री प्रदर्शन तथा प्रवर्द्धनका लागि मेला आयोजना गर्न लागिएको हो । ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले शुक्रवार मेला उद्घाटन गर्ने आयोजक नेपाल विद्युतीय व्यवसायी महासङ्घले बताएको छ । स्वदेश तथा विदेशी विद्युतीय सामग्री र सेवाबारे उत्पादक, विक्रेता, उपभोक्ता, विज्ञ र परामर्शदातालाई एकै थलोबाट पर्याप्त जानकारी प्रदान गर्नु मेलाको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ । व्यवसायी, नीतिनिर्माता र सरोकारवाला पक्षबीचको सम्बन्ध विस्तार गर्ने र विद्युतीय सामग्रीको बजार विस्तारमा मेला सहयोगी हुने नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष तथा मेला संयोजक महेन्द्रकुमार राठीले बताए । ‘मेलामार्फत राष्ट्रको विकासमा सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले ‘इलेक्ट्रो टेक’को आयोजना गरिएको हो,’ उनले भने ।

‘सुरक्षाका लागि गुणस्तर’ भन्ने मूल नाराका साथ शुरू हुन लागेको यसपटकको संस्करणमा कुल १ सय ९३ ओटा स्टल राखिएका छन् । ४ दिनसम्म सञ्चालन हुने मेला विद्युत् व्यवसायी, उत्पादक तथा उपभोक्ताका लागि उपयुक्त मञ्च हुने महासङ्घको दाबी छ । देशभर साङ्गठनिक सञ्जाल रहेको महासङ्घले विद्युतीय सेवा र सामग्री उत्पादन, प्रवर्द्धन तथा विक्री वितरणमा संलग्न उद्यमी तथा व्यवसायीको हकहित र विद्युतीय सामग्रीको गुणस्तरीय उत्पादन तथा सुरक्षित प्रयोगबारे आमउपभोक्ताई सचेत बनाउँदै आएको छ । मेलामा नेपाल, भारत, चीनलगायत विभिन्न यूरोपेली राष्ट्रबाट समेत सहभागिता रहनेछ । मेला उत्पादन निरीक्षण, आधुनिक एवम् अद्यावधिक ज्ञानका लागि प्रभावकारी हुने समेत आश गरिएको छ । मेलामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स क्षेत्रमा भइरहेका परिवर्तनको नवीनतम जानकारी दिइने महासङ्घका महासचिव सुदर्शन पौड्यालको भनाइ छ । ‘विद्युतीय क्षेत्र अत्यन्त संवेदनशील भएकाले सानोभन्दा सानो त्रुटिले पनि ठूलो दुर्घटना हुन सक्छ,’ उनले भने, ‘दुर्घटनामा जनधनको समेत क्षति हुन सक्ने भएकाले आमउपभोक्तामा यस्ता सामग्रीको गुणस्तर र सुरक्षित प्रयोगबारे जानकारी दिइनेछ ।’ गुणस्तरीय विद्युतीय सामग्री टिकाउ हुने तथा तिनको प्रयोगले ऊर्जा खपतसमेत कम हुने भएकाले गुणस्तरमा जोड दिइएको हो ।

मेलामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्राण्डका उत्पादनको प्रदर्शनी, वैकल्पिक ऊर्जा र ऊर्जासँग सम्बन्धित सबै पक्षबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिने महासङ्घको भनाइ छ । महासङ्घले यस प्रकारको मेलाले मुलुकमा नयाँ प्रविधि तथा अन्तरराष्ट्रिय लगानी भित्र्याउन सहयोग पुग्ने बताएको छ । ‘विद्युतीय सामग्रीको ९५ प्रतिशत बजार आयातमा निर्भर छ,’ महासचिव पौड्यालले भने, ‘नयाँ लगानीको वातावरण सृजना गर्न मेला सहयोगी हुने आशा गरेका छौं ।’ मुलुकमा नयाँ प्रविधि तथा अन्तरराष्ट्रिय लगानी भित्र्याउनसमेत मेला सफल हुने अपेक्षा गरिएको छ । मेलाका अवसरमा विद्युतीय वस्तु तथा सेवाको प्रदर्शनीका साथै गुणस्तरीय उत्पादन र सुरक्षा विषयक गोष्ठी तथा अन्तरक्रियासमेत आयोजना गरिने उनले बताए । मेलामा ट्रास्फर्मर, तार, स्वीच, बोर्ड, प्लग, मल्टिप्लग, हिटर, एअर कण्डिशनर, चिम, पङ्खा, लाइट, विद्युतीय ब्याट्री, इन्भर्टरलगायत विद्युतीय सामग्री प्रदर्शनीमा राखिनेछ ।

नेपाल इकरात इञ्जिनीयरिङ कम्पनी (निक)ले मुख्य प्रायोजन गरेको मेलाको राठी स्वीच एण्ड फ्यान्स र डेल्टन केबल डायमण्ड स्पोन्सर हुन् । त्यस्तै, गोल्ड स्पोन्सरमा सेभ इण्टरप्राइजेज रहेको छ । ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल लघु जलशक्ति विकास संस्था, नेपाल निर्माण व्यवसायी महासङ्घ, नेपाल विद्युतीय उत्पादक सङ्घ (निमा), सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनीयर्स अफ नेपाल, नेपाल इलेक्ट्रिकल कण्ट्र्याक्टर एशोसिएशन (नेका) र सौर्य विद्युत् उत्पादक सङ्घले मेलालाई सहयोग गरेका छन् ।

बढ्दो बजार
महासङ्घका अनुसार हाल नेपालमा वार्षिक रू. १ खर्बभन्दा बढीको विद्युतीय सामग्रीको व्यवसाय हुने गरेको छ । यो क्रम क्रमशः बढ्दै गएको र आगामी दिनमा थप बढ्ने व्यवसायीहरू बताउँछन् । भवन निर्माणसँगै विद्युत् वितरण तथा प्रसारणको क्रम बढेकाले पनि विद्युतीय सामग्रीको खपत बढ्ने अनुमान गरिएको छ । हालसम्म घरायसी प्रयोजनका विद्युतीय सामग्री बजार अंश ठूलो छ । आगामी दिनमा विद्युत् प्रसारण र वितरणसँग सम्बन्धित सामग्रीको उत्पादन र विक्री बढ्ने सम्भावना छ । ‘पछिल्लो समय नेपालको ऊर्जामा लगानी थपिने क्रम बढ्दै गएको छ,’ नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा निकका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले भने, ‘ऊर्जामा लगानी बढ्नु भनेको विद्युतीय सामग्रीको बजार विस्तार हुनु हो ।’

लगानीमैत्री वातावरणको अभाव
मेलाले विद्युतीय क्षेत्रमा उत्पादनको सम्भावना र अवसरबारे नयाँ लगानीकर्तालाई आकर्षण गर्ने महासङ्घका निवर्तमान अध्यक्ष रामबहादुर श्रेष्ठको भनाइ छ । यस क्षेत्रमा लगानीको सम्भावना प्रबल हुँदा पनि राज्यले लगानीमैत्री वातावरण बनाउन नसकेको व्यवसायीहरू बताउँछन् । ‘पूँजी अभावले यस क्षेत्रमा लगानी नभएको होइन,’ उनले भने, ‘सरकारले त्यो किसिमको वातावरण तयार गर्न सकेको छैन ।’ लगानीमैत्री वातावरण तयार भए अहिले व्यापारमा भइरहेको लगानी उत्पादनमा लगाउने व्यवसायीहरूको दाबी छ । एफएनसीसीआईका निवर्तमान अध्यक्ष जोशीले सरकारले गर्नुपर्ने काम व्यवसायीहरूले गरिरहेको बताए । ‘बाहिरी मुलुकमा सरकारले नै यस्ता मेला तथा प्रदर्शनी आयोजना गर्छ,’ उनले भने, ‘तर, यहाँ त्यस्तो हुन सकेको छैन ।’ विद्युतीय सामग्री निकै संवेदनशील वस्तु भएकाले राज्यले विद्युतीय सामग्री जाँच गर्ने संयन्त्र (प्रयोगशाला) तयार गर्नुपर्ने उनी बताउँछन् ।

प्रभावकारी अनुगमन आवश्यक
पछिल्लो समय बजारमा गुणस्तरहीन र कमसल सामग्रीको बिगबिगी बढ्दै छ । सरकारले प्रभावकारी अनुगमन गर्न नसक्नु र सस्तो मूल्यलाई प्राथमिकता दिने मानसिकताका कारण पनि बजारमा गुणस्तरहीन सामग्रीको प्रयोग बढ्दै गएको हो । ‘मूल्य उपभोक्ताको पहिलो प्राथमिकता बन्दै गएकाले व्यवसायीले पनि गुणस्तरमा सम्झौता गर्न थालेका हुन्,’ महासङ्घका महासचिव पौड्यालले भने, ‘यसले गर्दा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको छ ।’ कमसल तथा गुणस्तरहीन सामग्रीको विक्रीवितरणले नेपाल ‘डम्पिङ साइट’का रूपमा प्रयोग हुँदै गएको महासङ्घको ठहर छ । बजारमा नक्कली सामग्री रोक्न अनुगमन गर्नुपर्ने गुणस्तर तथा नापतौल विभागले समेतले यस क्षेत्रलाई बेवास्ता गर्दै आएको छ । ‘हामी व्यवसाय गर्नु कि अनुगमन’ उनी भन्छन्, ‘यस्ता सामग्रीको प्रयोगले विद्युतीय जोखीमसँगै ऊर्जा खपतसमेत बढ्दै गएको छ ।’ सरकारले सहयोग गरे कमसल तथा गुणस्तरहीन विद्युतीय सामग्रीको आयातलाई निरुत्साहित गर्न सकिने दाबी पनि महासङ्घको छ । त्यस्तै, जनचेतना वृद्धि गराई गुणस्तरीय वस्तुको उत्पादन तथा विक्री बढाउन सकिने सम्बन्धित व्यवसायीको भनाइ छ । विद्युतीय सामग्री संवेदनशील भएकाले पनि सरकारले यस क्षेत्रलाई विशेष महत्वका साथ हेर्नुपर्ने महासङ्घले बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।