असार १२, वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यात उल्लेख्य बढेको छ । गत आर्थिक वर्ष (आव) को ११ महीनाको तुलनामा चालू आवको सोही अवधिमा वीरगञ्ज नाकाबाट नेपाली वस्तुको निर्यात ७३ प्रतिशतले बढेको हो ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०७७/७८ को साउनदेखि जेठसम्मको ११ महीनामा रू. ४४ अर्ब २४ करोड २३ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा चालू आवको सोही अवधिमा रू. ३२ अर्ब ३१ करोड २४ लाख बढी अर्थात् रू. ७६ अर्ब ५५ करोड ४७ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ ।
वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मूख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, मोठ कपडालगायत वस्तु रहेको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।
कारोबार बढेपछि राजस्व संकलन पनि बढेको उनले बताए । उनका अनुसार गत आवको ११ महीनाको तुलनामा चालू आवको सोही अवधिमा करीब २३ प्रतिशतभन्दा बढी राजस्व संकलन भएको छ ।
गत आवको ११ महीनामा रू. १ खर्ब ५३ अर्ब ९८ करोड ३२ लाख राजस्व संकलन भएकोमा हाल रू. ३४ अर्ब ८० करोड एक लाख बढी अर्थात् रू. १ खर्ब ८८ अर्ब ७८ करोड ६२ लाख राजस्व संकलन भएको भन्सार कार्यालयले बताएकाे छ । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।