असार १४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार करीब ९५ अंक बढेको शेयर बजार सूचक नेप्से सुस्त गतिमा घट्न थालेको छ ।
त्यसपछिका दुई कारोबार दिन सोमवार र मंगलवार नै नेप्से घटेको हो । सोमवार नेप्से २३ अंक घटेको थियो भने मंगलवार ११ दशमलव ८२ अंक घटेको छ । पछिल्लो समय नेपाल धितोपत्र बोर्डले बजारलाई प्रत्यक्ष प्रभाव पार्ने ऐन नियमलाई समय सापेक्ष बनाउने र शेयर बजारको विस्तारका लागि काम गर्ने प्रतिबद्धता गरेसँगै आइतवार नेप्से परिसूचकमा हरियाली छाएको थियो ।
शुक्रवार र आइतवार लगातार दुई दिन बढेको बजार अबका दिनमा यही विन्दुमै रहन सक्ने विश्लेषको भनाइ छ । लामो समयपछि उच्च अंकले बजार बढ्दा लगानीकर्तामा खुशियाली छाएको थियो । तर, बढेको बजारमा नाफा बुक गर्नेको हाबी भएसँगै बजार घटेको कतिपयको भनाइ छ ।
मंगलवार नेप्से शून्य दशमलव ६१ प्रतिशत घटेर १ हजार ९२१ विन्दुमा बन्द भएको हो । सो दिन कारोबारमा आएका २३० ओटा धितोपत्रको ३० लाख ३७ हजार ६८० कित्ता रू. १ अर्ब ५ करोड खरीदविक्री भएको छ ।
कारोबारमा आएका २३० धितोपत्रमध्ये सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. ८७१ दशमलव ७० कायम भएको छ ।
त्यसैगरी सर्वाधिक मूल्यको शेयर खरीद विक्री एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको रू. ७ करोड ३१ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको हो । त्यस्तै कारोबारमा आएका १३ समूहमध्ये बैंकिङ र जीवन बीमा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।
जीवन बीमा समूहको १ दशमलव शून्य ३ प्रतिशत र बैंकिङ समूहको शून्य दशमलव शून्य २ प्रतिशत परिसूचक वृद्धि भएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।