३ ओटा बच्चा जन्माउन अभिभावकलाई प्रोत्साहन भत्ता ल्याउँदै चीन     

Share News

असार २५, पेचिङ । चीनले जनसंख्या बढाउन र श्रमशक्तिमा योगदान गर्न  विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन भत्ता ल्याउने भएको छ ।  

 सरकारले दम्पतीलाई तेस्रो सन्तान जन्माउन प्रोत्साहन गर्ने नीति ल्याउने तयारी स्वरुप प्रोत्साहन भत्ता ल्याएको हो । विश्वको सबैभन्दा बढी जनसंख्या भएको चीनमा पछिल्लो वर्षमा एकाएक जनसंख्या घट्दै गएपछि सरकारले यस्तो नीति कार्यान्वयनमा ल्याएको हो ।

उक्त नीति अन्तरगत रिटार्यड हुने समय थप गर्ने, युवाहरूलाई विवाह र परिवारबारे शिक्षा दिने, चाइल्डकेयर सेवा सुधार्ने, सुत्केरी विदा बढाउने र चाइल्ड बर्थ इन्स्योरेन्सलगायतका सुुविधाहरु थप गरिने छ ।     

देशमा गम्भीर जनसाङ्ख्यिक संकट उत्पन्न हुन नदिन सरकारले विवाहित दम्पतिलाई कर र आवास ऋण, शैक्षिक लाभलगायत नगद प्रोत्साहन उपलब्ध गराउने छ ।  चीनले गहिरिंदै गएको जनसंख्या घट्ने समस्यालाई रोक्ने प्रयासस्वरुप उक्त कदम चालेको हो ।

गत वर्षको अन्त्यमा चिनियाँ मुख्य भूमिको जनसंख्या १ अर्ब ४० करोड १३ रहेको र नवजात शिशुको संख्या १ करोड ६२ लाखमा झरेको ग्लोबल टाइम्सले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ  । नवजात शिशु र कालगतिले मर्ने चिनियाँ नागरिकको संख्या भने सोही हाराहारीमा रहेको उक्त पत्रिकाले समाचारमा उल्लेख गरेको छ ।     
     
दशकौंसम्म चिनियाँ कम्युनिष्ट पार्टीले एक बच्चा मात्र जन्माउन पाउने नीतिलाई कडाइका साथ कार्यान्वयन गरेको थियो । तर उक्त नीतिले महिला प्रजनन अधिकारको दमन गरेको आरोप पनि लाग्दै आएको थियो । जन्म नियन्त्रण गर्न बाध्य दम्पतिले अब तीन ओटासम्म सन्तान जन्माउन त पाउने छन् तर उनीहरु नयाँ सुविधा र प्रोत्साहन भत्ताप्रति खासै आकर्षित देखिंदैनन्।   
     
चिनियाँ महिलाहरूको बढ्दो शैक्षिक र आर्थिक विकासका कारण उनीहरूको विवाह गर्ने प्रवृत्ति पनि पुरुषको तुलनामा कम छ । गत वर्ष पेचिङले नयाँ जनसंख्या र परिवार योजना कानून जारी गरेको थियो । जसले चिनियाँ दम्पतीहरूलाई तीन ओटा बच्चा जन्माउन अनुमति दिए पनि भरणपोषणलगायत अभिभावकीय जिम्मेवारी बहनका निम्ति दम्पतीहरुले थप बच्चा जन्माउन चाहना गरिरहेका छैनन् ।

 चिनियाँ तथ्यांक विभागका अनुसार  चीनमा एक महिला सरदर १ दशमलव ३ बच्चा जन्माउँछन्। जबकी जनसंख्याको स्थायित्वका लागि त्यो दर २ दशमलव १ प्रतिशत हुनु पर्छ। चीनमा  यसअघि दम्पतीलाई दुई बच्चा मात्र जन्माउन अनुमति दिइएको थियो। अहिले चीनको जनसंख्या १ अर्ब ४१ करोड २० लाख छ। एजेन्सीहरु

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।