असार २६, काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडको ५ वर्षे अवधिको ऋणपत्र विक्रीको अवधि परिवर्तन भएको छ ।
कम्पनीले असार २२ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको उक्त ऋणपत्रको असार २६ गते बकर इदको कारण सार्वजनिक विदा परेकाले छिटो अवधि असार २७ र ढिलो अवधि साउन ४ गतेसम्म तय गरेको हो ।
कम्पनीले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।
सोमध्ये ६० प्रतिशत अर्थात् रू. १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र कम्पनीले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने ४० प्रतिशत अर्थात् रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणलाई विक्री गर्नेछ । सामूहिक लगानी कोषबाट भने ऋणपत्र खरीदका लागि आवेदन नपरेको कम्पनीको भनाइ छ ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ्ग प्रदान गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।