असार २७, काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ अन्तिम बाँडफाँट मंगलवार हुने भएको छ । शुक्रवार प्रि–अलोटमेन्ट सम्पन्न गरेको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले यही असार २८ गते बिहान ८ः३० बजे आफ्नै कार्यालयमा आईपीओको अन्तिम बाँडफाँट गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणका लागि कुल १९ लाख ६८ हजार २५० कित्ता शेयर वितरण गर्न लागेको हो । सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेकाे कम्पनीले जनाएकाे छ । यीबाहेक सार्वजनिक निष्कासनमार्फत विक्री गरेको १८ लाख ३० हजार ४७२ कित्ता शेयरको बाँडफाँट मंगलवार हुने भएको हो । कम्पनीले सर्वसाधारणमा असार १५ गतेदेखि असार १९ गतेसम्मसम्म सार्वजनिक निष्कासनमार्फत आईपीओ विक्री गरेको थियो ।
यस कम्पनीको आईपीओ खरीदका लागि १० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी १६ लाख २६ हजार ३४० जनाबाट १ करोड ८४ लाख १९ हजार ९८० कित्ता शेयर खरीदको माग भएको हो । कम्पनीको आईपीओ १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले हात पार्नेछन् । यीमध्ये थप दुई जनाले एक-एक कित्ताका दरले शेयर पाउने देखिन्छ । यसरी हेर्दा कम्पनीको आईपीओ बढी पाउनेले ११ कित्तासम्म हात पार्नेछन् ।
कम्पनीको अधिकृत पूँजी रू. १ अर्ब ९८ करोड र जारीपूँजी रू. १ अर्ब ९ करोड ५० लाख रहेको छ । हाल कम्पनीको संस्थापकतर्फ चुक्ता भएको पूँजी रू. ८७ करोड छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित स्थानीयमा समेत ९ लाख कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ । सर्वसाधारणतर्फको आईपीओ बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ५० लाख पुग्नेछ । कम्पनीमा संस्थापक शेयरधनीको ७९ दशमलव ४५ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका वासिन्दाको ८ दशमलव २२ प्रतिशत र कर्मचारीसहित सर्वसाधारण शेयरधनीको १२ दशमलव ३३ प्रतिशत शेयर हिस्सा रहने छ ।
आईपीओबाट प्राप्त भएको रकम कम्पनीबाट निर्माण भएको जलविद्युत आयोजनाको निर्माण सम्पन्न गर्नको लागि बैंकसँग लिएको १५ करोड ऋण र आयोजना निर्माणसँग सम्बन्धित अन्य बाँकी खर्च भुक्तानीमा उपयोग गरिनेछ ।
कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ७६ दशमलव ३३ देखि रू. २२८ दशमलव ९९ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कुनै पनि नयाँ कम्पनीको पहिलो धितोपत्र कारोबारका लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्यरेञ्ज तोक्ने गरेको छ । यस कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६ दशमलव ३३ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।