मर्जरका कारण १५ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का, कुन-कुन गर्दैछन् मर्जर ?

Share News

असार ३०, काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेञ्जमा १५ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेसँगै नेप्सेले यी कम्पनीहरूकाे शेयर कारोबार रोक्का राखेको हो ।

बिहीबारसम्ममा कारोबार रोक्का हुनेमा सानिमा लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स प्राइम लाइफ इन्स्योरेन्स छन् । यस्तै, गुँरास लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का गरिएकाे छ ।  

नियामक निकाय बीमा समितिले मर्जरबाटै पूँजी बढाउन निर्देशन दिएसँगै बीमा कम्पनीहरू धमाधम मर्जरमा जान थालेका छन् । 

बीमा समितिले २०७८ चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पूँजी बढाउन निर्देशन दिएको थियो । बीमा समितिको निर्देशन अनुसार २०७९ चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले न्यूनतम रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूले रू. २ अर्ब ५० करोड रूपैयाँ चुक्ता पूँजी पुर्‍याउनु पर्नेछ ।

११ कम्पनीमध्ये हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी साउन १ गतेदेखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् । दुई कम्पनी एक भई हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । दुवै कम्पनीको असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जर प्रस्तावलाई स्वीकृति प्रदान गरिएको थियो । दुवै कम्पनीलाई नियामक निकाय बीमा समितिले भने असार ८ गते मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

यी दुई कम्पनीबीच गत वैशाख २३ गते मर्जरमा जाने सम्झौता भएको थियो । मर्जर सम्झौता गरेको दुई महिनापछि यी कम्पनीहरूले एकीकृत कारोबार थाल्न लागेका हुन् ।मर्जरपश्चात् कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड रहने जानकारी दिइएको छ । यी दुई कम्पनी १ः०.८५ अनुपातमा मर्जरमा गएका हुन् । एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता शेयर बराबर हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता (१ः०.८५) अनुपातमा मर्जरमा गएका हुन् ।

त्यस्तै, जीवन बीमातर्फ सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले असार २९ गते मर्जरमा जाने सहमति गरेका छन् । मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएसँगै यी दुई कम्पनीको शेयर काराेबार गत बुधवारदेखि रोक्का भएको छ । त्यसैगरी प्राइम लाइफ इन्स्योरेन्स, गुँरास लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स वैशाख २९ गते मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सोही कारण यी तीनओटै कम्पनीको शेयर कारोबार जेठ ३ गतेदेखि रोक्का छ । 

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले असार १२ गते मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। सोही कारण यी दुवै कम्पनीको शेयर कारोबार असार १३ गतेदेखि रोक्का छ । त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीले असार २७ गते मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यी दुवै कम्पनीको शेयर कारोबार असार २८ गतेदेखि रोक्का छ । 

सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले असार ३० गते गाभिने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरसँगै यी दुवै कम्पनीको शेयर कारोबार बिहीवारदेखि रोक्का छ । त्यसैगरी, सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनी असार २९ गते मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यी दुवै कम्पनीको पनि शेयर कारोबार रोक्का भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।