भूउपयोग नियमावलीको असर : मासिक ७ अर्ब उठ्ने राजस्व घटेर ३ अर्बमा झर्‍याे

Share News

साउन १, काठमाडौं । पछिल्लो समय देशभर घरजग्गाको कारोबार घटेको छ । काठमाडौं बबरमहलस्थित भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत असारमा ४७ हजार २८ जग्गाको लिखत पास भएको छ । यो संख्या जेठको तुलनामा ८ हजारले कम हो । गत जेठमा ५५ हजारको हाराहारीमा घरजग्गाको कारोबार भएको थियो । 

अहिले दैनिक २ हजारको हाराहारीमा मात्रै लिखत पास हुने गरेको छ । सामान्य समयमा भने त्यो संख्या ७–८ हजारको हाराहारीमा थियो । 

बजारमा जग्गाको आपूर्ति बढे पनि किन्ने मान्छे नहुँदा कारोबार घटेको जग्गा व्यावसायीहरू बताउँछन् । मेघना रियल इस्टेटका सञ्चालक एमके राउत जग्गा व्यावसायीहरूले २/४ लाख रूपैयाँ घटेरै जग्गा बेच्न खोजेपछि आपूर्ति बढेको बताउँछन् । जग्गाको मूल्य बढ्ने छाँट नदेखिएपछि उनीहरू (जग्गा व्यावसायी) शेयरमा लगानी गर्नका लागि जग्गा बेच्न रियल इस्टेट कम्पनीकहाँ आएको उनले बताए । 

जग्गाको कारोबार घटेपछि राजस्वसमेत घटेको छ । अहिले दैनिक १४ करोडको हाराहारीमा मात्रै राजस्व संकलन हुने गरेको छ । सामान्य समयमा दैनिक २०–२५ करोडको हाराहारीमा राजस्व संकलन हुने गरेको थियो । 

विभागका अनुसार देशभर असारमा जग्गा कारोबारबाट ३ अर्ब ६० करोड २२ लाख ४९ हजार २९२ रूपैयाँ राजस्व संकलन भएको छ । नियमावली लागू हुनुअघिका महिनामा ६–७ अर्ब रूपैयाँ राजस्व संकलन हुने गरेको थियो । 

विभागका एक अधिकारी भूउपयोग नियमावली आएपछि जग्गा कारोबार र राजस्व ५० प्रतिशतको हाराहारीमा घटेको बताउँछन् । भूउपयोग नियमावलीमा जग्गाको वर्गीकरण नभई कित्ताकाट गर्न नपाइने व्यवस्था छ । यही कारण जग्गाको कारोबार र राजस्व घटेको हो । सरकारले २०७९ जेठमा नियमावली लागू गरेको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।