साउन १, काठमाडौं । केही दिनयता हिमालयन डिष्टीलरी लिमिटेडको शेयर सर्वाधिक खरीदविक्री भइरहेकाे छ । आइतवार कम्पनीको शेयर सर्वाधिक किनबेच हुने दोस्रो स्थानमा छ । यस दिन रू. ४ करोड ७६ लाख बराबरको कम्पनीकाे शेयर किनबेच भएको हो । यस दिन शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ४६८ कायम भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ५८ रूपैयाँले बढी हाे ।
किन बढ्याे आकर्षण ?
गत भदाैमा ३२ सयमा विन्दुमा पुगेको नेप्से परिसूचक अहिले २ हजार विन्दुमा छ । याे अवधिमा कम्पनीहरूको शेयर मूल्यसमेत सस्तिएको छ । शेयर मूल्य सस्तिनेमा हिमालयन डिष्टीलरी पनि छ । नेप्से उच्च विन्दुमा हुँदा कम्पनीकाे शेयर मूल्य प्रतिकित्ता रू. ७ हजार ९३८ पुगेको थियो । अहिले भने कम्पनीकाे शेयर मूल्य आधा सस्तिएकाे छ ।
सोही कारण कम्पनीको शेयर किन्न लगानीकर्ताकाे आकर्षण भएकाे हुन सक्छ । यसो त कम्पनीले दिँदै आएकाे लाभांशले पनि लगानीकर्तालाई तानेकाे हुन सक्छ । कम्पनीले विगतमा शेयरधनीलाई आकर्षक लाभांश दिँदै आएकाे थियाे ।
कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त बोनस शेयर सूचीकृत भएको छ भने नगद लाभांश पनि बैंक खातामा पठाइसकेको छ । चार आर्थिक वर्षमा कम्पनीले शेयरधनीलाई कुल ३७१ दशमलव ०५ प्रतिशत लाभांश दिएको छ । जसमध्ये १७५ प्रतिशत बोनस शेयर र २१७ दशमलव १ प्रतिशत नगद लाभांश अन्तरिम लाभांशसहित, करसहित वितरण गरेको हो ।
त्यसैगरी कम्पनीले आव २०७४/७५ मा शेयरधनीलाई ६८ दशमलव ४२ प्रतिशत अन्तरिम लाभांश दिएको थियो । आर्थिक वर्ष पूरा नहुँदै बीचमै कम्पनीले आफ्नो शेयरधनीलाई दिने लाभांशलाई अन्तरिम लाभांश भनिन्छ ।
सामान्यतया कम्पनीले नियामक निकाय र वार्षिक साधारणसभाबाट पारित भएको लाभांशमात्र शेयरधनीलाई वितरण गर्छन् भने अन्तरिम लाभांश सञ्चालक समितिले निर्णय गरेर बाँड्न सकिन्छ । तर, यसलाई भविष्यमा हुने पहिलो वार्षिक साधारणसभाबाट अनुमोदन गराउनुपर्छ । यसको अर्थ के हुन्छ भने आर्थिक वर्षको अन्त्यमा कम्पनीको मुनाफा उच्च हुने र त्यसबाट बाँडिने अन्तिम लाभांश रकम अन्तरिम लाभांशभन्दा बढी नै हुनेमा सञ्चालक समिति पूर्ण विश्वस्त हुन्छ ।
कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ७८ करोड ८३ लाख ८३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा १७ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ६७ करोड २७ लाख नाफा कमाएको थियो । ७५ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १ अर्ब ५१ करोड पुगेको छ भने जगेडा कोषमा रू. १ अर्ब ५ करोडभन्दा बढी सञ्चित रहेको छ ।
विगत चार वर्षमा दिएको लाभांश विवरण
प्राविधिक विश्लेषण
मैनबत्ती चित्र
१७ अप्रिल २०२२ १७ जुलाई २०२२
६६ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो पुच्छर र छोटो टुप्पी भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृति कम्पनीका शेयर मूल्य बढ्ने संकेत देखाउँछ ।
आरएसआई
१७ अप्रिल २०२२ १७ जुलाई २०२२
६६ दिनको कारोबार अवधिमा आरएसआई ५७ दशलमव ९५ विन्दुमा रहेको छ । यो न्यूट्रल जोनमा रहेको छ । यस्तो अवस्थामा खरीदविक्री चाप सन्तुलनमा रहेको देखिन्छ ।
स्ट्याण्र्ड डेभिएसन
१७ अप्रिल २०२२ १७ जुलाई २०२२
६१ दशमलव ६५ बिन्दुमा रहेको छ । यस्तो अवस्थामा उतारचढाव सामान्य रहेको देखाउँछ । कम जोखिम युक्त र पूर्वानुमान गर्न सजिलो छ । लाभ पनि न्यून हुन सक्छ ।
मुभिङ एभरेज
१७ अप्रिल २०२२ १७ जुलाई २०२२
हालको शेयर मूल्य ७ दिने र १४ दिने रेखाभन्दा माथि रहेको छ । यस्तो अवस्थामा ७ दिने रेखाले २६ दिने रेखालाई तलबाट काटेर माथि गएमा शेयर मूल्य बढ्ने गर्दछ भने २६ दिने रेखामा प्रतिरोध पाएर फर्किएमा मूल्य घट्ने देखिन्छ । मंगलवारको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ४६८ देखि सस्तिएमा रू ३ हजार ३९९ मा टेवा पाउने र महँगिएमा रू. ३ हजार ६२५ मा प्रतिरोध पाउने देखिन्छ ।
( यद्यपि, याे तथ्यांककाे आधारमा गरेको विश्लेषण पूर्ण होइन, लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको समग्र आधारभुत पक्ष र प्राविधिक पक्ष हेर्नु आवश्यक छ ।)
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।