साउन ८, काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले साउन १५ गतेबाट संस्थापक शेयर पुनः लिलामीमा ल्याउने भएको छ ।
कम्पनीले २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक शेयर पुनः लिलाम विक्री गर्न लागेकाे हाे । यसअघि कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक शेयर लिलामी गर्दा ५१ लाख ९० हजार ५२० कित्ता मात्र बिकेको थियो । कम्पनीले सो अवधिमा विक्री नभएको शेयर अहिले पुनः लिलाम विक्री गर्न लागेको हो ।
यस लिलामीमा व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने बताइएको छ । बोलपत्र पेश गर्ने म्याद साउन २९ गतेसम्म तोकिएको कम्पनीले बताएकोछ । बोलपत्र पेश गर्न चाहनेले न्यूनतम १०० रूपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट बोलपत्र आवेदन फाराम लिन र बुझाउन सकिनेछ ।
त्यस्तै ग्लोबल आइएमई बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ । साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।