साउन १०, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले साउन १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ निष्कासन गर्न लागेको हो । सो ऋणपत्रको अवधि ६ वर्ष रहनेछ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने छ । निष्कासन गर्न लागेको ऋणपत्रमध्ये सामूहिक लगानी कोषसहित ४० प्रतिशत अर्थात् रू. ८० करोड बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो । सामूहिक लागनी कोषलाई भने ४० हजार कित्ता ऋणपत्र छुट्याइएको छ । बाँकी ६० प्रतिशत अर्थात् रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरिने बैंकले जानकारी दिएको छ ।
सो ऋणपत्रमा साउन २२ गतेसम्म आवेदन दिन पाइने छ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भदौ १ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ । ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।