साउन ११, काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को इकाई बाँडफाँट भएको छ । बुधवार विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नक्सालस्थित कार्यालयमा इकाई बाँडफाँट गरिएको हो ।
६० हजार ७१९ जना आवेदकहरूबाट ८ करोड ४५ लाख ८९ हजार ७६० इकाई खरीदको लागि आवेदन प्राप्त भएको विक्री प्रबन्धकको भनाइ छ ।
आवेदकहरूमध्ये रीत नपुगेका ५६ जनाको आवेदन रद्द गरिएको विक्री प्रबन्धकले जानकारी दिएको छ । ६० हजार ६६३ जनाले भने माग गरे बमोजिम इकाई प्राप्त गरेका छन् ।
क्यापिटलकै व्यवस्थापनमा सञ्चालन हुन लागेको यस योजनाको इकाई असार २२ गतेदेखि साउन ४ गतेसम्म विक्री गरिएको थियो ।
यो योजना सञ्चालनका लागि क्यापिटलले प्रतिइकाई १० रूपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई विक्री गरेको हो । कुल इकाईमध्ये योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई १८ लाख र कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैंक लिमिटेडलाई १ करोड ६२ लाख सुरक्षित गरिएको छ ।
यी बाहेक बाँकी १० करोड २० लाख इकाई भने सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो । क्यापिटलले १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको योजना सञ्चालनका लागि इकाई विक्री गरेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।