सिवाईसी नेपाल लघुवित्तको नाफा ५५ प्रतिशत बढ्यो 

Share News

साउन १३, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५ प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो आवमा ५ करोड १८ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले गत आवमा ८ करोड ३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।

गत आवमा कम्पनीको सञ्चालन नाफा भने ६२ दशमलव ११ प्रतिशत बढी भएको छ । अघिल्लो आवमा २ करोड ८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत आवमा ३ करोड ३८ लाख रूपैयाँभन्दा बढी याे नाफा गरेको हो । गत आवमा कम्पनीले ९ करोड ८७ लाख रूपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेकाले खुद नाफामा वृद्धि भएको देखिन्छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ६ करोड १३ लाख रूपैयाँभन्दा बढी मात्र खराब कर्जा संकलन गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी १२ करोड १६ लाख ४१ हजार रूपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष रकम अघिल्लो आवको तुलनामा करिब २०० प्रतिशत बढेर २८ करोड ८ लाख रूपैयाँभन्दा बढी पुगेको छ ।

कम्पनीले गत आवमा १ अर्ब ६४ करोड रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ भने ३ अर्ब ५९ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको कर्जा सापटी ४६२ दशमलव ८७ प्रतिशत बढी र कर्जा प्रवाह १०५ दशमलव २१ प्रतिशत बढी भएको हो । कम्पनीले अघिल्लो आवभन्दा गत आवमा ५७ दशमलव ६७ प्रतिशत बढी १ अर्ब ३९ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ । 

निष्क्रिय कर्जा ४ दशमलव ८४ प्रतिशत घटेर १ दशमलव ९५ प्रतिशतमा झरेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६६ रूपैयाँ ३ पैसा र प्रतिशेयर नेटवर्थ २३० रूपैयाँ ८६ पैसा छ । 

रिपाेर्टकाे लागि यहाँ क्लिक गर्नुहाेस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।