विश्वभर किन घट्यो स्मार्टफोनको विक्री ? 

Share News

सिंगापुर । विश्व बजारमा स्मार्टफोनको विक्री उच्च दरले घटेको छ । यस वर्षको दोस्रो त्रैमासमा विश्व बजारमा २८ करोड ७० लाख थान स्मार्टफोन बिकेको बजार अनुसन्धाता संस्था क्यानलिसले एउटा प्रतिवेदनमा भनेको छ । यो गत वर्षको सोही अवधिको ९ प्रतिशत कम हो । 

कम्पोनेन्टको अर्डर तीव्र दरमा कटौती भएको अनि आपूर्तिकर्ताहरूमा अत्यधिक आपूर्तिको चिन्ता बढ्दा विक्री प्रभावित बनेको हो । विक्रीको यो आकार सन् २०२० को दोस्रो त्रैमासयताकै न्यून हो । सो अवधिमा दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले ६ करोड १८ लाख थान स्मार्टफोन बेचेको छ । सो अवधिमा बजारमा कम्पनीको हिस्सा २१ प्रतिशत छ । 

दोस्रो स्थानमा रहेको एप्पलको विक्री ४ करोड ९५ लाख थान छ । समीक्षा अवधिमा स्मार्टफोन बजारमा कम्पनीको हिस्सा १७ प्रतिशत छ । ३ करोड ९६ लाख थान स्मार्टफोन बेचेको साओमी तेस्रो स्थानमा छ । ओप्पो र भीभो क्रमशः चौथौं र पाँचौं स्थानमा छन् ।

सो अवधिमा यी दुई कम्पनीको विक्री क्रमशः २ करोड ७३ लाख थान र २ करोड ५४ लाख थान रहेको छ । सन् २०२१ मा स्मार्टफोन बजारमा छोटोे समय पुनःबहाली आएको थियो । तर, मागमा आएको कमीका कारण यो वर्ष शुरु भएयता लगातार दुई ओटा त्रैमासमा विक्री घटेको छ ।

बढ्दाे महँगी, भूराजनीतिक अवस्था, काेराेना महामारीलगायत कारणले स्मार्टफोनकाे विक्री घटेकाे बताइएकाे छ । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।