साउन १७, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १५ करोडभन्दा बढी खुद नाफा गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ६१ दशमलव ४३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले रू. ९ करोड २९ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष कम्पनीको सञ्चालन नाफा भने १८ दशमलव ७६ प्रतिशत कम भएको छ । सञ्चालन नाफा घटेको वर्ष कम्पनीको खराब कर्जा संकलन बढी भएकाले खुद नाफा बढेको देखिन्छ । अघिल्लो वर्ष रू. ४ करोड १५ लाखभन्दा बढी रहेको खराब कर्जा संकलन गत वर्ष रू. १५ करोड १४ लाखभन्दा बढी भएको हो ।
सञ्चालन नाफा भने सम्भावित जोखिम शीर्षकमा बढी रकम छुट्याएकाले घटेको देखिन्छ । अघिल्लो वर्ष रू. १० करोडभन्दा बढी सम्भावित जोखिम शीर्षकमा छुट्याएको कम्पनीले गत वर्ष रू. १२ करोड ३५ लाखभन्दा बढी छुट्याएको हो ।
४७ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १४ करोड ७५ लाख पुर्याएको कम्पनीको जगेडा कोष रकम रू. २९ करोड ८३ लाखभन्दा बढी कायम भएको छ ।
साढे २३ प्रतिशत बढी अर्थात् रू. २ अर्ब ७७ करोड कर्जा सापटी लिएको कम्पनीले ८६ दमलव ६४ प्रतिशत कम अर्थात् रू. ४४ करोड ५६ लाख कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन भने ४४ दशमलव ३८ प्रतिशत बढी अर्थात् रू. १ अर्ब ३४ करोड भएको छ ।
निष्क्रिय कर्जा अघिल्लो वर्ष १ दशमलव ७१ प्रतिशत रहेकोमा गत वर्ष १ दशमलव ९१ प्रतिशत पुगेको छ । चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १०१ दशमलव ७६ रहेकोमा प्रतिशेयर नेटवर्थ रू. ३०२ दशमलव २६ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।