साउन १७, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड आईपीओ निष्कासन गर्ने तयारीमा छ । कम्पनीले साउन २४ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले कुल ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल कित्तामध्ये ५ हजार १५५ कित्ता कर्मचारीहरूको लागि, १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई छुट्याइएको छ भने बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसका लागि आवेदकले साउन २९ गतेसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने आवेदकहरूले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।
सोही कम्पनीले मंंगलवार गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. २ करोड ६० लाख नाफा कमाएको छ ।
यो नाफा अघिल्लो आवको तुलनामा भने २५ प्रतिशत घटेको हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ३ करोड ५० लाख नाफा कमाएको थियो ।गत आवमा कम्पनीले सम्भावित जोखिम व्यवस्थापनमा रकम छुट्याउँदा नाफा घट्न पुगेको हो । कम्पनीले सो अवधिमा सम्भावित जोखिम व्यवस्थापनमा रू. ३ करोड ६४ लाख रकम छुट्याएको छ । सोही कारण सञ्चालन नाफा ७० प्रतिशत घटेको छ ।
त्यस्तै कम्पनीका निष्क्रय कर्जा बढेकाले पनि नाफा घट्न पुगेको हो । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशलमव २७ प्रतिशत रहेकोमा गत आवमा बढेर ४ दशमलव ३७ प्रतिशत पुगेको छ । त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा १४ प्रतिशत वृद्धि भएको छ ।
अघिल्लो आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. ८ करोड ९१ लाख रहेकोमा गत आवमा बढेर रू. १० करोड २१ लाख पुगेको छ । कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पश्चात् पूँजी रू. १० करोड ३१ लाख पुग्नेछ । कम्पनीले गत आवसम्ममा जगेडामा रू. ११ करोड सञ्चित गरेको छ । सो अवधिमा रू. ६३ करोड ७ लाख सापटी लिएर रू. ६७ करोड ५९ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ४३ करोडभन्दा बढी कर्जा लगानी गरिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।