१७.५८ प्रतिशत पूँजी बढाएको मुक्तिनाथ विकास बैंकले कमायो १ अर्ब ३७ करोडभन्दा बढी नाफा 

Share News

साउन १९, काठमाडौं । गत आर्थिक वर्षमा मुक्तिनाथ विकास बैंक लिमिटेडले रू. १ अर्ब ३७ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवमा रू. १ अर्ब १५ करोडभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत आवमा १८ दशमलव ४७ प्रतिशत बढी खुद नाफा गरेको हो ।

अघिल्लो आवको तुलनामा इम्पेरमेण्ट चार्ज ८५ दशमलव २५ प्रतिशत कम भएकाले गत आवमा कम्पनीको सञ्चालन नाफा साढे १९ प्रतिशत बढेको छ । अघिल्लो आवमा रू. ४९ करोड ५२ लाख रहेको इम्पेरमेण्ट चार्ज गत आवमा रू. ७ करोड ३० लाखमा सीमित भएको हो । इम्पेरमेण्ट चार्ज घटेसँगै कम्पनीको सञ्चालन नाफा अघिल्लो आवमा रू. १ अर्ब ६४ करोडभन्दा बढी रहेकोमा गत आवमा रू. १ अर्ब ९६ करोडभन्दा बढी भएको हो । गत आवमा कम्पनीको वितरणयोग्य नाफा भने रू. ८१ करोड ५९ लाखभन्दा बढी रहेको छ ।

१७ दशमलव ५८ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार पुर्याएको कम्पनीको जगेडा कोष रकम ४४ दशमलव ३६ प्रतिशत बढेर रू. १ अर्ब ६२ करोडभन्दा बढी कायम भएको छ ।

अघिल्लो आवभन्दा २० दशमलव ४३ प्रतिशत बढी रू. १ खर्ब ४ अर्ब ६५ करोड निक्षेप संकलन गरेको कम्पनीले १९ दशमलव १८ प्रतिशत बढी रू. ८६ अर्ब ९० करोड कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा अघिल्लो आवमा शून्य दशमलव २३ प्रतिशत रहेकोमा गत आवमा शून्य दशमलव २१ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी रू. २४ दशमलव २२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव २१ रहेको छ । 

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुस्

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।